जनमत पार्टीतर्फ आकर्षण बढ्दो, पर्सामा युवाहरूको सक्रिय सहभागिता
पर्सा, मङ्सिर २७ — पर्सा क्षेत्र नम्बर–१ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–१८, सौरहामा करिब ५० जना युवाहरू जनमत पार्टीमा प्रवेश गरेका छन्।
उक्त अवसरमा सम्पन्न भेलाबाट स्थानीय अगुवा अशोक कुमार कानुको अध्यक्षतामा बुथ कमिटी तथा स्थानीय प्रभावशाली युवा अभय शर्माको अध्यक्षतामा बुथस्तरीय युवा दस्ता गठन गरिएको छ।

कार्यक्रममा जनमत पार्टी पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, जिल्ला सदस्य नागेन्द्र गुप्ता, वीरगञ्ज महानगर उपाध्यक्ष निराजन कुशवाहा, युवा दस्ता तथा जेन्जी जनमत संघ पर्साका जिल्ला अध्यक्ष मनोज साह, उपाध्यक्ष रोशन पाण्डे, युवा दस्ताका महानगर संयोजक अजित सिंह, आशु सिंह, सुमित सिंह, मन्जय शर्मालगायतको उपस्थिति रहेको थियो।
भेलालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष सरार्फले अबको नेतृत्व युवा पुस्तामा पुस्तान्तरण हुनुपर्ने आवश्यकता औंल्याउँदै वडा तहदेखि प्रतिनिधिसभासम्म युवाहरू जनप्रतिनिधि बनेर देश र समाजको नेतृत्व लिनुपर्नेमा जोड दिए।
उनले जहाँ भ्रष्टाचार, अनियमितता र जनताको काममा हेलचक्र्याइँ हुन्छ, त्यहाँ युवा दस्ता २४ सै घण्टा स्वयंसेवकका रूपमा सहयोग तथा खबरदारी गर्न तयार रहने बताए।