जसपाका उम्मेद्वार अशोक टेमानीलाई विजयी बनाउने लक्ष्यमा मधेशवादी दल एकजुट
वीरगंज (पर्सा), २२ माघ — वीरगंज महानगरपालिका वडा नं. १० स्थित जनता समाजवादी पार्टी (जसपा) कार्यालयमा मधेशवादी दलका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थितिमा भेला सम्पन्न भएको छ। निर्वाचनअगाडि मधेशवादी शक्तिहरूलाई एकै मञ्चमा उभ्याउने उद्देश्यका साथ आयोजना गरिएको यस भेलाले पर्सामा मधेशवादी एकताको सन्देश प्रवाह गरेको छ।
भेलालाई सम्बोधन गर्दै जसपाका नेता तथा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतले पार्टीप्रति अनुशासित भएर सक्रियतापूर्वक अघि बढ्न कार्यकर्तालाई आग्रह गरे। उनले प्रतिनिधिसभा सदस्यका उम्मेदवार अशोक टेमानीलाई विजयी गराउन प्रत्येक कार्यकर्ताले आफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक खटिनुपर्नेमा जोड दिए। राउतले भने, “मधेशको भावना, पहिचान र जनताको हकअधिकार सुनिश्चित गर्न मधेशी दलहरूको एकता अपरिहार्य छ। औपचारिक संरचनागत एकता नभए पनि निर्वाचनको सन्दर्भमा साझा एजेण्डा एकै हो।”
उक्त भेलामा उम्मेदवार अशोक टेमानीले विभिन्न धारमा विभाजित व्यक्तित्वहरू एकढिक्का भएको देख्दा आफू उत्साहित भएको बताए। उनले जनताको अपेक्षाअनुसार विगतका प्रतिनिधिहरूले काम नगरेको औँल्याउँदै अब विकासको ढोका खोल्ने अवसर गुमाउन नहुने जोड दिए।
भेलामा निर्वाचन अभियानलाई प्रभावकारी बनाउने उपाय, घरदैलो र प्रचार–प्रसारमा सक्रिय हुने रणनीति, र मतदातासम्म पार्टीको एजेण्डा तथा उम्मेदवारको पृष्ठभूमि पुर्याउने विषयमा विस्तृत छलफल भएको थियो। विशेषगरी युवालाई अग्रपङ्क्तिमा राखेर जनसम्पर्क अभियान तीव्र बनाउने योजना बनाइएको सहभागीहरूले बताए।
कार्यक्रममा जसपाका केन्द्रीय सदस्य विरेन्द्र यादव, जिल्ला कार्यवाहक अध्यक्ष सन्तोष तिवारी, वीरगंज महानगरपालिका वडा नं. २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी, जनता प्रगतिशील पार्टीका नेता भरतभूषण पाण्डे, अँकुश पटेल, विक्रम मुखिया, योगेन्द्र शर्मा, हरिन्द्र शर्मा लगायतका नेता–कार्यकर्ताको उपस्थिती रहेको थियो।
भेलाले मधेशवादी शक्तिहरूबीच आपसी विश्वास, समन्वय र साझा लक्ष्यलाई सुदृढ गर्ने सन्देश दिएको र आगामी निर्वाचनका लागि यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुने आयोजकहरूले बताएका छन्।