जसपामा फेरबदल : यादव–साह बाहिर, महतो–झा भित्र
काठमाडौं । अशोक राइले नेतृत्व गरेको जनता समाजवादी पार्टीले आफ्ना दुई मन्त्री फेर्ने प्रस्ताव प्रधानमन्त्री समक्ष पठाएको छ ।
पार्टीले निर्णय गरेर प्रधानमन्त्री समक्ष पठाएपनि मन्त्रिपरिषद् पुनर्गठन नभएपछि जसपाले प्रधानमन्त्रीसँग ताकेता गर्न थालेको छ ।
जसपाले खानेपानीमन्त्री प्रदीप यादवको स्थानमा वीरेन्द्र महतो र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीको ठाउँमा रञ्जु झालाई पठाउनेगरी निर्णय गरेको हो । शनिबार बसेको पार्टीको बैठकमा फेरि यो कुरा उठेको हो ।
बैठक स्रोतका अनुसार, शनिबार बैठकमा मन्त्रीहरूलाई राजीनामा दिन भनिएको छ । पार्टीभित्रको सहमति अनुसार गत वैशाखमै उनीहरूको एक वर्षे समयावधि सकिएको र त्यसपछि बजेटसम्म पर्खिने भन्दै उनीहरू पदमै रहेको विषयमा कुराकानी भएको थियो ।
बजेट पास भएपछि पनि उनीहरूले पद नछाडेकोले शनिबारको बैठकमा उनीहरूलाई मन्त्रीपद छोड्न पुन ताकेता गरिएको हो ।
मन्त्री बन्ने सूचीमा रहेका जसपा नेपालका नेता वीरेन्द्र महतोका अनुसार, सरकारमा सहभागी हुने बेलामै पार्टीमा एक वर्षमा मन्त्री फेरबदल गर्ने भन्ने सहमति थियो ।
त्यही सहमति अनुसार अहिले समयावधि पुगेकाले फेर्न लागिएको उनको भनाइ छ ।