जसपा नेपालको निर्णय: विचार मिल्ने दलसँग एकता, युवा समावेशीकरण र निर्वाचन तयारीमा केन्द्रित

40

वीरगन्ज । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले समान विचार, सिद्धान्त र मुद्दा मिल्ने राजनीतिक दलहरूसँग एकता गर्ने निर्णय गरेको छ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यो महत्त्वपूर्ण निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

जसपा नेपालले विचार र सिद्धान्त नमिल्ने तर राजनीतिक मुद्दाहरू मिल्ने दलहरूसँग भने संयुक्त मोर्चा, कार्यगत एकता वा सहकार्य गरेर अघि बढ्ने नीति लिएको छ।

पार्टीले आफ्नो नीति, कार्यक्रम र सङ्गठनमा युवा पुस्तालाई आबद्ध गर्ने विशेष कार्यनीति तय गरेको छ। यसका लागि मातहतका पार्टी समितिहरूलाई परिपत्रसमेत जारी गरिएको छ।

परिपत्रमा भनिएको छ, ‘जेनजी पुस्ताले आन्दोलनका दौरान उठाएका माग र मुद्दाहरू जसपा नेपालले पहिलेदेखि नै उठाउँदै आएको धेरैजसो माग र मुद्दासँग मिल्दोजुल्दो नै छ। युवा पुस्ताहरूसँग सहकार्य गर्दै, उनीहरूलाई प्रोत्साहन र समावेशीकरण गर्दै अगाडि बढ्ने पार्टीको नीति रहेको छ।’

वर्तमान परिस्थितिमा जसपा नेपालले सङ्गठन, सङ्घर्ष, प्रशिक्षण र निर्वाचनलाई उच्च प्राथमिकतामा राखेर अघि बढ्ने निष्कर्ष निकालेको छ।

पार्टीले आगामी निर्वाचनलाई ध्यानमा राखी बुथ स्तरसम्म स्वयंसेवक तयार गर्ने, जनपरिचालन र आधारभूत सङ्गठन निर्माण अभियान चलाउने तथा व्यापक रूपमा पार्टी प्रवेश कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

जसपाले उठाउने मुख्य मुद्दाहरूमा संविधान संशोधन, जनसङ्ख्याका आधारमा प्रतिनिधित्व, पहिचान, राज्यको पुनर्संरचना, तथा मधेशी, आदिवासी जनजाति मुस्लिमलगायत पिछडिएका समुदायका मागहरूलाई जनताको बीचमा लैजाने बताएको छ। साथै, विगतमा सरकार समक्ष पेस गरिएको ६७ बूँदे माग र प्रस्तावहरू लाई पनि जनता समक्ष पुर्‍याइनेछ।

निर्वाचन केन्द्रित कार्यहरूलाई उच्च प्राथमिकतामा राख्दै उम्मेदवारको चयन, प्रचारप्रसार, चुनावी प्रशिक्षण र जित्न सक्ने सम्भावना भएका क्षेत्रहरूमा बढी ध्यान दिने गरी शक्ति परिचालन गर्ने काममा पार्टी केन्द्रित हुने बस्नेतले बताए।

Leave A Reply

Your email address will not be published.