जीवन ज्योति विद्यालयमा हजुरबुवा–हजुरआमा दिवस भव्यतासँग सम्पन्न
२६ मंसिर, वीरगञ्ज आनन्द पटेल —
जीवन ज्योति माध्यमिक विद्यालयले बिहीबार Happy Grandparents Day– हजुरआमा–हजुरबुवा दिवसको अवसरमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको प्रमुख आतिथ्य मारवाडी महिला मञ्चकी पूर्व अध्यक्ष रेणु अग्रवाल रहिन्। उनले विद्यालय प्राङ्गणमा रहेको गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गरिन्। विद्यार्थीहरूको प्रस्तुति मनमोहन र प्रेरणादायी रहेको उल्लेख गर्दै उनले यस्ता गतिविधिले विद्यार्थी र हजुरबुवा–हजुरआमाबीचको सम्बन्ध अझ सुदृढ हुने बताइन्।

त्यसैगरी, मानव सेवा आश्रमका मधेस प्रदेश संयोजक देवेश मानवसेवाले विद्यार्थीलाई डाक्टर वा इन्जिनियर बन्नु मात्र ठूलो कुरा नभएर खेलकुद, नृत्य, फोटोग्राफी जस्ता क्षेत्रमा पनि उज्वल भविष्य सम्भव रहेको सुझाव दिए।
कार्यक्रममा सञ्चारकर्मी आनन्द पटेलले विद्यालयले हजुरबुवा–हजुरआमाको मन जित्न सफल भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे।

कार्यक्रम शिव गुप्ता र मीनाक्षी गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो। विद्यार्थीहरूले सांस्कृतिक नृत्य, कविता, नाटकलगायत विविध प्रस्तुति दिएर सबैको मन जिते। साथै, हजुरबुवा–हजुरआमाबीच खेलकुद प्रतियोगिता गराई विद्यालयले सम्मान पनि गरेको थियो।
कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक, अतिथि तथा सञ्चारकर्मीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।