जेन–जी आन्दोलनका सहिदहरूको सम्झनामा मासकोट एकाडेमी र तेक्वान्डो डोजाङ्गद्वारा बिरगञ्जमा शोक कार्यक्रम
बिरगञ्ज आनन्द पटेल— नेपालमा भ्रष्टाचार र बेथितिविरुद्ध आयोजित जेन–जी आन्दोलन का क्रममा २०८२ साल भाद्र २३ र २४ गते सहादत प्राप्त गरेका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले बिरगञ्जमा विशेष शोक कार्यक्रम सम्पन्न भएको छ।
बिरगञ्ज कुम्हालटोलस्थित मासकोट एकाडेमी र बिरगञ्ज तेक्वान्डो डोजाङ्ग को संयुक्त आयोजनामा असोज १ गते भएको कार्यक्रममा सहिद युवाहरूको स्मृतिमा मौनधारण, दिप प्रज्वलन र श्रद्धाञ्जली व्यक्त गरिएको थियो।
कार्यक्रममा विद्यालयका सञ्चालक विजय शाह, डोजाङ्ग प्रमुख महमद शकील, अन्तर्राष्ट्रिय खेलाडी महमद वेश, वरिष्ठ खेलाडी मुनिलाल यादव, इमरान शेख, सर्फराज आलम, सुजित यादव, सन्तोष रौनियारलगायतको सक्रिय उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले जेन–जी आन्दोलनका क्रममा भ्रष्टाचार र बेथिति विरुद्ध लड्दै ज्यान गुमाएका युवाहरूको साहसिक योगदानलाई उच्च सम्मान व्यक्त गरे। उनीहरूले सहादत दिने युवाहरूले देखाएको त्यागले राष्ट्रलाई सत्य, न्याय र पारदर्शिताको बाटोमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरे।
विद्यालय सञ्चालक विजय शाहले सहिदहरूको बलिदानलाई नयाँ पुस्ताले कहिल्यै नबिर्सनुपर्ने र उनीहरूको सपना साकार पार्न सबै क्षेत्रका मानिस एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।
तेक्वान्डो डोजाङ्ग प्रमुख महमद शकीलले खेल क्षेत्रमा सक्रिय युवाहरूले पनि भ्रष्टाचार विरुद्धको अभियानलाई निरन्तर साथ दिने र सहिदहरूको सपना साकार पार्न योगदान पुर्याउने प्रतिवद्धता जनाए।
त्यसैगरी अन्तर्राष्ट्रिय खेलाडी महमद वेशले सहिदहरूलाई सम्झिँदै युवाहरू राष्ट्र निर्माणका अगुवा भएको बताउँदै भ्रष्टाचारमुक्त समाज निर्माण गर्न खेलकुद, शिक्षा र नागरिक समाज सबैले मिलेर भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
वरिष्ठ खेलाडी मुनिलाल यादव, इमरान शेख, सर्फराज आलम, सुजित यादव र सन्तोष रौनियारलगायतले सहिदहरूको आत्माको चिरशान्तिको कामना गर्दै यस्ता आन्दोलनहरूले मुलुकमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
शोक कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै सहिद युवाहरूको योगदानलाई सम्मानपूर्वक स्मरण गरेका थिए। कार्यक्रमको समापनमा सहभागीहरूले भ्रष्टाचारविरुद्धको अभियानलाई निरन्तरता दिने तथा न्याय र पारदर्शिताका लागि निरन्तर आवाज उठाइरहने प्रतिवद्धता समेत व्यक्त गरेका थिए।