टी–२० विश्वकप छनोट : नेपाल र जापानबीच आज रोमाञ्चक भिडन्त

48

काठमाडौं । तेस्रो पटक टी–२० विश्वकप खेल्ने लक्ष्यमा रहेको नेपाली टिमले आज (असोज २४) आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको दोस्रो खेलमा जापान विरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

बुधबारदेखि ओमानको अल अमेरतमा सुरु भएको प्रतियोगितामा नेपाल आज लगातार दोस्रो जितको खोजीमा छ । समूह ‘बी’मा रहेको नेपालले यस अघि कुवेत विरुद्ध ५८ रनको जित निकालेको थियो । आजको खेलमा जित निकाले नेपाल समूह विजेता बन्दै प्रतियोगिताको सुपर–६ मा प्रवेश गर्ने छ ।

यता, जापान पनि लगातार दोस्रो जितको खोजीमा छ । जापानले यस अघि पहिलो खेलमा कुवेत विरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

अल अमेरत स्थित ओमान क्रिकेट एकेडेमी मैदान टर्फ–१ मा हुने यो खेल नेपाली समय अनुसार अपराह्न ४ः१५ बजेदेखि सुरु हुने छ ।

छनोट अघि नेपालले तयारी स्वरुप टेस्ट राष्ट्र तथा दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिज विरुद्धको तीन खेलको शृंखला खेलेको थियो । युनाइटेड अरब इमिरेट्स (यूएई)मा भएको उक्त शृंखलामा नेपालले २–१ को ऐतिहासिक जित निकालेको थियो ।

यस्तै, ओमानमै भएको छनोट अघिको अभ्यास खेलमा नेपालले शतप्रतिशत जित निकालेको थियो । अभ्यास खेलमा नेपालले ओमान विरुद्ध ६ विकेटको र कतार विरुद्ध १६ रनको जित निकालेको थियो ।

नेपाली क्रिकेट टिमले हालसम्म दुई पटकमात्र टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेको छ । नेपालले यस अघि पहिलो पटक सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकपमा प्रतिस्पर्धा गरेको थियो । जहाँ नेपाली टिम वर्तमान नेपाल क्रिकेट संघ (क्यान)का सचिव समेत रहेका पारस खड्काको कप्तानीमा प्रतिस्पर्धामा उत्रिएको थियो ।

त्यसपछि नेपालले गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजित टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेको थियो । विश्वकपको यो संस्करणमा नेपाली टिमको नेतृत्व रोहित पौडेलले नै सम्हालेका थिए ।

तीन टिमले विश्वकपमा स्थान बनाउने

विश्वकपको यो छनोट प्रतियोगितामा एसिया र प्यासिफिक क्षेत्रका कुल नौ टिमको सहभागिता छ । जसबाट तीन टिमले मात्र आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाउने छन् ।

समूह चरणमा नौ टिमलाई प्रत्येक समूहमा तीन टिम रहने गरी तीन समूहमा विभाजन गरिएको छ । जसबाट प्रत्येक समूहका शीर्ष दुई टिम सुपर–६ मा छनोट हुनेछन् । सुपर–६ को शीर्ष तीनमा रहने टिमले विश्वकपमा स्थान बनाउने छन् ।

Leave A Reply

Your email address will not be published.