ठोरी नाकाबाट अवैध रूपमा खाडी जान लागेका पाँच नेपाली नागरिक नियन्त्रणमा
पर्सा भारत हुँदै खाडी मुलुक जान लागेका चार महिला र एक पुरुषलाई सशस्त्र प्रहरीले पर्साको ठोरी नाकाबाट नियन्त्रणमा लिएको छ । शंकास्पद गतिविधि देखिएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ठोरीबाट खटिएको टोलीले जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये इलामकी दुई महिला ओमान जान लागेको र रोल्पाकी दुई महिला नयाँ दिल्लीमार्फत अन्य खाडी मुलुकतर्फ जान लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सशस्त्र प्रहरी निरीक्षक प्रेम राउतले जानकारी दिए । उनीहरूलाई भारत लैजान लागेको आशंकामा चितवन माडी ९८ का दीपक खड्कालाई समेत नियन्त्रणमा लिइएको उनको भनाई छ ।
इलामकी दुई महिलाको साथबाट भिसाविनाका दुई राहदानी समेत फेला परेको छ। आवश्यक कागजात तयार गरी पाँचै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको सीमा सुरक्षा गुल्म सुवर्णपुरका सशस्त्र प्रहरी नायव उपरीक्षक आनन्द खनालले बताए ।