तलब वृद्धि र सुविधाका मागमा शिक्षक–कर्मचारीको आन्दोलन, क्याम्पस ठप्प
वीरगंज स्थित हरिखेतान बहुमुखी क्याम्पसमा शिक्षक–कर्मचारीको आन्दोलनका कारण पठनपाठन पूर्णरूपमा ठप्प भएको छ। बुधबार बिहान विद्यार्थीहरूले क्याम्पसको मुख्य गेट अगाडि धर्ना दिँदै नियमित कक्षा सञ्चालनको माग गरेका छन्। ब्याचलर चौथो वर्षका विद्यार्थीहरूले साउनदेखि कक्षाहरू नियमित नभएको भन्दै आफ्नो अध्ययन र परीक्षा प्रभावित भएको गुनासो गरेका छन्।
शिक्षक–कर्मचारीले आफ्ना माग पूरा नभएसम्म अनिश्चितकालीन तालाबन्दी गर्ने निर्णय गरेका छन्। मंगलबारदेखि उनीहरूले क्याम्पस प्रमुखको कार्यकक्षसहित प्रशासनिक कोठाहरूमा तालाबन्दी सुरु गरेका छन्।
कर्मचारी युनियनका अध्यक्ष विनोद यादवले क्याम्पस प्रमुख किशोरी राय यादवमाथि “गैरजिम्मेवार व्यवहार, झुटा आश्वासन र मनोमानी निर्णय”को आरोप लगाएका छन्। युनियनका अनुसार, उनीहरू बजार दरको तुलनामा ५० प्रतिशत कम तलबमा काम गर्दै आएका छन् र विगत अढाई वर्षदेखि तलब वृद्धि, ग्रेड, सञ्चय कोष, उपदान र अन्य सुविधा माग गर्दै आन्दोलनरत छन्।
क्याम्पस प्रमुख यादवले भने, “क्याम्पसको नीतिनियम संशोधन र नयाँ व्यवस्था लागू गर्दा असन्तुष्टि देखा परेको हो। समस्या समाधानका लागि छलफल जारी छ।”विद्यार्थी र कर्मचारीको आन्दोलनका कारण हाल क्याम्पसको सम्पूर्ण पठनपाठन र प्रशासनिक कार्य ठप्प भएको छ, जसले विद्यार्थीहरूको भविष्यमा नकारात्मक असर पारेको विद्यार्थीहरूले बताएका छन्।