थारू समाजको इतिहास, सभ्यता र पहिचान बोकेको समाचकेवा पर्वको सुरुवात
वीरगन्ज । तराईमा बसोबास गर्ने आदिवासी थारू र मधेशी समुदायमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिने समाचकेवा पर्व सुरु भएको छ।
यो पर्व भाइटीकाको दिनदेखि सुरु भई १५ दिनसम्म खेल्ने गरिन्छ र कात्तिक पूर्णिमाको दिन विधिपूर्वक पूजापाठ गरी बिसर्जन गरेर समापन हुन्छ।
थारू संस्कृतिविद् भुलाइ चौधरीका अनुसार समाचकेवा पर्व थारूको इतिहास, सभ्यता र पहिचान बोकेको गाथा हो। यसले थारू समाजको यथार्थ चित्रण र दिदीभाइप्रतिको प्रेम दर्शाउँछ। उनका अनुसार यो पर्व करिब दुई हजार वर्ष पुरानो गरभा राजा र किसनभूषण सेनको यथार्थ कथामा आधारित छ, जहाँ राजाले कुरौटेको जालझेलमा परेर आफ्नी छोरी समालाई वनबास दिँदाको पीडा र भाइको वियोगान्त कथा समेटिएको छ।
दिदीबहिनीहरू यस पर्वमा हरेक साँझ गीतिकाव्यमार्फत दाजुभाइलाई आशीर्वाद र दीर्घायूको कामना गर्दै समा खेल्छन्। यस क्रममा उनीहरू समाजमा कुरा काट्ने (चुगला)को विरोधस्वरूप उनको जुँगा डढाउने परम्परा पनि निभाउँछन्।
तराईमा बसोबास गर्ने अन्य जातिहरूले पनि थारू संस्कृति अंगाल्दै यो पर्व मनाउन थालेका छन्। पूर्णिमाको भोलिपल्ट दिदीबहिनीहरूले समाचकेवालाई दही चिउरा खुवाएर नजिकको दह, पोखरी वा नदीमा सेलाएर पर्वको बिदाइ गर्दछन्।