दशौं प्याब्सन अन्तरविद्यालय क्रिकेट प्रतियोगिता वीरगञ्जमा सुरु, उद्घाटन खेलमा सेन्ट जेभियर्स सेकेन्डरी स्कुल विजयी

133

वीरगञ्ज, ८ माघ | आनन्द पटेल

वीरगञ्जमा आजदेखि दशौं संस्करणको प्याब्सन अन्तरविद्यालय क्रिकेट प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ। वीरगञ्जस्थित टीबी शाह क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष डा. उपेन्द्र महतोले गर्नुभएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै डा. महतोले नेपालको बौद्धिकता पलायन (Brain Drain) रोक्न नेपालमै निजी क्षेत्रको लगानी अपरिहार्य रहेको बताउनुभयो। निजी लगानीबिना कुनै पनि देश अघि बढ्न नसक्ने उल्लेख गर्दै उहाँले उच्च मनोबलका साथ लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो।

“जब नेपालीहरूले देशमै रोजगारी पाउँछन्, शिक्षित र सक्षम बन्छन्, तब मात्र नेपालको शान विश्वमा उचो हुन्छ,” उहाँले भन्नुभयो।

प्याब्सन पर्साको आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै डा. महतोले समृद्ध देश निर्माणमा निजी क्षेत्रको भूमिका निर्णायक हुने बताउनुभयो। नेपाल स्वच्छ, शिक्षित र स्वस्थ राष्ट्र बन्न पर्याप्त जनशक्ति रहेको उल्लेख गर्दै त्यसको सही परिचालनमा जोड दिनुभयो। नेपालको शिक्षा प्रणाली राम्रो रहेको र नेपालीहरू इमान्दार तथा मेहनती भएको अनुभव सुनाउँदै उहाँले आफू साधारण गाउँको विद्यालयबाट अध्ययन गरी विश्वस्तरीय विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्न सक्षम भएको उदाहरण प्रस्तुत गर्नुभयो।

डा. महतोले विद्यार्थीहरूलाई अध्ययनलाई प्राथमिकतामा राख्दै खेलकुद तथा अतिरिक्त क्रियाकलापले आत्मबल र आत्मसम्मान वृद्धि गर्ने भएकाले त्यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो। समारोहमा विद्यार्थीहरूले प्रदर्शन गरेको ‘Stop Brain Drain’ लेखिएको प्लेकार्डको प्रशंसा गर्दै कठिन परिस्थितिमा पनि निजी लगानीमार्फत शिक्षाको स्तर उकास्न प्याब्सनले खेलेको भूमिकाको विशेष सराहना गर्नुभयो।

प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्याब्सनका केन्द्रीय उपाध्यक्ष सुवाष श्रेष्ठ, क्यानका सचिव रोशन सिंहलगायतले शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, परिषदका विज्ञ सल्लाहकार डा. हरिशंकर साह, मणि पाख्रिन, लालबहादुर पटेल, मधेस प्रदेश उपाध्यक्ष पुरन प्रधान, वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोक लगायतको उपस्थिति रहेको थियो।

क्रिकेट प्रतियोगितामा पर्सा प्याब्सनमा आवद्ध ४० वटा विद्यालयका खेलाडीहरूको सहभागिता रहेको प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले जानकारी दिनुभयो। साथै, प्याब्सनले माघ १० गतेदेखि प्याब्सन जुनियर फुटबल प्रतियोगिता पनि आयोजना गर्ने जनाएको छ।

आजको उद्घाटन खेल गुरुकुल एकेडेमी र सेन्ट जेभियर्स सेकेन्डरी स्कुलबीच सम्पन्न भएको थियो। टस जितेर ब्याटिङ गरेको गुरुकुल एकेडेमी १० ओभर ३ बलमै २८ रनमा अल आउट भयो। सो खेल सेन्ट जेभियर्स सेकेन्डरी स्कुलले जितेको छ।

खेलको ‘म्यान अफ द म्याच’ सेन्ट जेभियर्स सेकेन्डरी स्कुलका शेख अनिशु रहमान घोषित भएका छन्। उनले ५ रन खर्चेर ४ विकेट  लिएका थिए ।

Leave A Reply

Your email address will not be published.