दुई गठबन्धनबीच सरकार गठनको टक्कर, अन्तिम निर्णय प्रदेश प्रमुखमा निर्भर

82

जनकपुरधाम — मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि तीव्र राजनीतिक हलचल सुरु भएको छ। नेपाली कांग्रेस, नेकपा एमाले र जनमत पार्टी मिलेर बनेको तीनदलीय गठबन्धनले बुधबार प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनको दाबी पेस गरेको छ।

यस अघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेतृत्वको गठबन्धनले पनि सरकार गठनको दाबी पेस गरिसकेको थियो। दुई गठबन्धनबीचको समान दाबीले सत्ता समीकरण जटिल बनेको छ।

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवका अनुसार तीनदलीय गठबन्धनले कृष्ण कुमार यादवको नेतृत्वमा सरकार गठनको दाबी पेस गरेको हो। कांग्रेसका नेता यादवले जनमत पार्टी आफ्नो गठबन्धनमा रहेको दाबी गरेका छन् भने लोसपा पक्षले जनमतका नेता महेश प्रसाद यादवलाई दबाबमा पारेर हस्ताक्षर गराएको आरोप लगाइएको छ।

तर जनमत पार्टीका संसदीय दलका नेता महेश यादवले कांग्रेसको दाबीलाई अस्वीकार गरेका छन्। त्यस्तै नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवले पनि लोसपाको दाबीलाई अविश्वसनीय बताउँदै जनमत पार्टी आफूहरूको पक्षमा रहेको स्पष्ट पारेका छन्।

दुवै पक्षले जनमत पार्टीलाई आफ्नो गठबन्धनमा रहेको दाबी गरेपछि मधेसमा सत्ता समीकरण फेरिने संकेत देखिएको छ। अन्तिम निर्णय प्रदेश प्रमुखको कदम र कानुनी व्याख्यामा निर्भर रहनेछ।

Leave A Reply

Your email address will not be published.