देशभर आज हरिबोधिनी एकादशी पर्व मनाइँदै
वीरगंज : आज कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी देशभर धार्मिक भक्ति र उल्लासका साथ मनाइँदैछ। हिन्दु धर्मअनुसार यस दिन भगवान् विष्णुका प्रतीक तुलसीको दामोदरसँग विवाह गरी विशेष पूजाअर्चना गर्ने परम्परा रहेको छ।
यो एकादशीलाई प्रायः प्रबोधिनी एकादशी पनि भनिन्छ। जनविश्वास अनुसार आषाढ शुक्ल एकादशी ९हरिशयनी एकादशी० का दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आजका दिन ब्युँझिन्छन्। यसैले यस दिनलाई विष्णुभक्तका लागि अत्यन्त पवित्र मानिन्छ।
धार्मिक परम्परा अनुसार, एकादशीको दुई दिनअघि चोखो बसेका भक्तजनहरूले अघिल्लो दिन जग्गे बनाएर लिङ्गो गाड्ने र बेलुकी सत्यनारायणको पूजा गर्ने चलन छ। आजको दिन भक्तजनहरूले डोरीमा बेल, पीपल, सयपत्री लगायतका फूलहरू उनेर डोलीमा हालेर नदीमा तार्ने परम्परा पालना गर्दैछन्।
जनविश्वास अनुसार यसरी फूलको डोली नदीमा तार्दा पाप नष्ट हुने र मृत पश्चात् वैतरणी नदी पार गर्न सजिलो हुने बताइन्छ। हरिबोधिनी एकादशीको अवसरमा देशभर मन्दिरहरूमा विशेष पूजा, कथा वाचन र धार्मिक कार्यक्रमहरू आयोजना गरिएका छन्।