देश ओरालो लाग्ने क्रम रोकियो, अब देश अघि बढ्छःअध्यक्ष ओली

390

 

काठमाडौं, २९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता समीकरणले देशलाई ओरालो लाग्नबाट रोक्ने बताउनुभएको छ । आज नेकपा एमाले ताप्लेजुङको पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सत्ता समीकरणमा नेकपा एमाले पनि भएकोले देशलाई ओरालो लाग्न नदिने बताउनुभएको हो । एमालेको प्रधानमन्त्री र एमालेको एकल सरकार हुँदा जस्तो काम गर्न नसकिए पनि अहिलेको सरकाले देशलाई बरबादीमा जानबाट भने जोगाएको ओलीले दाबी गर्नुभयो । ‘अब ओरालो लाग्ने क्रम रोकियो देशको, त्यो ओरालो लाग्ने क्रम रोकिएको छ, अब देश ओरालो लाग्दैन’, ओलीले भन्नुभयो ।

हिजो गठबन्धन सरकार हुँदा विकास निर्माणका काम ठप्प भएका बताउँदै ओलीले ती काम अब अगाडि बढ्ने आश्वासन दिनुभयो । सरकारले रोकिएका विकास निर्माणका काम फेरि अगाडि बढाउने ओलीले बताउनुभयो । एमाले सरकारबाट हटेपछि विकास निर्माणका काम रोक्ने र राष्ट्रियतालाई कमजोर बनाउने काम भएको ओलीले बताउनुभयो । ‘हामीलाई सरकारबाट हटाउने जुन तिकडम भयो, षडयन्त्र भयो, जालझेल भयो, त्यो सबै कुरा यो देशलाई अगाडि बढ्न नदिने उद्देश्यका साथ भएको थियो, यो देशको राष्ट्रियतालाई कमजोर पार्ने उद्देश्यका साथ भएको थियो’, ओलीले थप्नुभयो ।

उहाँले मिसन २०८४ बाट एमालेलाई राष्ट्रिय शक्ति बनाउनु पर्ने बताउनुभयो । त्यसले राष्ट्रियतालाई बलियो बनाउने र विकास र समृद्धिको गति अघि बढ्ने उहाँको भनाइ छ । एमालेलाई सानदार बहुमतसहितको निर्णायक शक्तिको रूपमा अघि बढाउनु पर्नेमा उहाँको जोड रहेको छ । एमालेले राष्ट्रियतालाई बलियो बनाउने, मिचिएको भू–भागलाई देशको नक्सामा ल्याउने, कहिल्यै पनि नाकाबन्दी नलाग्ने अवस्था सिर्जना गर्ने, नेपाललाई सार्वभौमसत्ता सम्पन्न मुलुकको रूपमा स्थापित गर्ने काम गरेको उहाँले स्मरण गर्नुभयो ।

राष्ट्रियता, विकास, सुशासनको गति रोक्न एमाले विरुद्ध षडयन्त्र भएको बताउँदै ओलीले त्यसलाई एमालेले असफल गराइदिएकोसमेत उहाँले बताउनुभयो । उहाँले बैशाख १५ गते हुने इलाम–२ को प्रतिनिधि सभा र बझाङको प्रदेश सभा निर्वाचनमा एमालले जित्ने र जित्नु पर्ने बताउनुभयो । अब एमालेले सबै ठाउँमा जित्दै जाने उहाँको दाबी रहेको छ । एमाले नेता कार्यकर्तालाई देशलाई शिरमा राखेर काम गर्न पनि ओलीको आग्रह रहेको छ । त्यसो गरियो भने मात्र मिसन २०८४ सफल हुने ओलीको भनाई छ ।

Leave A Reply

Your email address will not be published.