धनुषामा बस र अटो ठक्कर, चार जनाको मृत्यु

75

धनुषा, कात्तिक १६ – धनुषा जिल्लामा शनिबार साँझ भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने दुई बालबालिका गम्भीर घाइते भएका छन्।

विराटनगरबाट धनगढी जाँदै गरेको सुप्र ०१–००१ख ३२८८ नम्बरको यात्रुवाहक बसले गणेशमान चारनाथ नगरपालिका–१, वीरेन्द्र बजारमा विपरीत दिशाबाट आएको प्रदेश२–०१–००१ह १२३० नम्बरको अटोरिक्सालाई ठक्कर दिएको थियो।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार दुर्घटनामा भरतपुरका ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र अटो चालक डम्बर राईको घटनास्थलमै मृत्यु भएको हो।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका १४ वर्षीय शीतल मगर र ९ वर्षीय रोशन मगरलाई उपचारका लागि जनकपुरधामस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको छ। प्रहरीले दुर्घटनाको थप अनुसन्धान जारी राखेको छ।

Leave A Reply

Your email address will not be published.