धनुषा प्रशासन अगाडि पत्रकारहरूको सामूहिक आवाज : स्वतन्त्रता र सुरक्षाको माग

60

जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि आइतबार पत्रकारहरूले सामूहिक विरोध प्रदर्शन गरेका छन्। प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको मागसहित उनीहरूले प्रशासन कार्यालय अगाडि नाराबाजी गर्दै आन्दोलन गरेका हुन्।

प्रदर्शनमा सहभागी पत्रकारहरूले पत्रकार माथिको दमन बन्द गर, पत्रकारमाथि आक्रमणको अन्त्य गर, स्वतन्त्र प्रेसको सम्मान गर जस्ता लिखित प्लेकार्ड टाँसेका थिए। उनीहरू शान्तिपूर्ण रूपमा सडकमा उभिएर अधिकारको संरक्षण र सुरक्षाको प्रत्याभूति दिन प्रशासनलाई चेतावनी दिइरहेका थिए।

आन्दोलनस्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्थ्यो। जिल्ला प्रशासन कार्यालयले सम्भावित स्थिति नियन्त्रणमा राख्न ठूलो संख्यामा प्रहरी खटाएको थियो। यद्यपि, प्रदर्शन भने शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ।

आन्दोलनकारी पत्रकारहरूले भने, “पत्रकारमाथि भइरहेका आक्रमण, दबाब र बेवास्ता अब सह्य छैन। हाम्रो आन्दोलन माग पूरा नभएसम्म निरन्तर जारी रहनेछ।”

उनीहरूले पत्रकारमाथि बढ्दै गएको दमन, धम्की र आक्रमणविरुद्ध तत्काल ठोस कदम चाल्न माग गरेका छन्। साथै, प्रेस स्वतन्त्रता सुरक्षित गर्न राज्यले जिम्मेवारी पूरा नगरेसम्म संघर्षरत रहने घोषणा गरेका छन्।

प्रदर्शनलाई नेपाल पत्रकार महासंघ, विभिन्न सञ्चार गृहका प्रतिनिधि तथा स्थानीय पत्रकारहरूले ऐक्यवद्धता जनाएका छन्। उनीहरूले पत्रकारमाथि दमन गर्ने प्रवृत्ति लोकतन्त्र र स्वतन्त्र प्रेसका लागि खतरा भएको भन्दै एकताबद्ध संघर्ष गर्ने प्रतिवद्धता जनाएका छन्।
जग्गा विवाद प्रकरणमा पत्रकारहरुलाई कुटपिट तथा दुव्र्यवहार गर्ने वकिलहरुलाई कारवाही नगरिएको भन्दै स्थानीय प्रशासन विरुद्ध जनकपुरधाममा पत्रकारहरु आन्दोलनको घोषणा गरेका छन् । कार्यक्रममा पत्रकारहरुको उल्लेखनिय सहभागिता थियो ।

Leave A Reply

Your email address will not be published.