धरानमा किताब बेचेर महावीर पुनले उठाए एक करोड १० लाख
धरान। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डाक्टर महावीर पुनले धरानमा किताब बेचेर एक करोड १० लाख ४२ हजार २५० रुपैयाँ संकलन गरेका छन्। उनले धरानमा १५ दिनसम्म विभिन्न चोक र कार्यालयहरूमा पुगेर किताब बेचेका थिए।
धेरै दिन उनले धरानको भानुचोकमा बसेर दैनिक किताब बेची नगद संकलन गरेका हुन्। बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनमा ल्याउन किताब बेचिरहेका पुनले धरानमा १४ हजार ७ सय २३ थान किताब बिक्री भएको बताए।
सरकारसँग वीरगञ्ज कृषि औजार मर्मत गर्ने सम्झौता गरेका पुनले किताब बेचेर रकम संकलन गरी उक्त कारखानाको पुनः निर्माण गरि सञ्चालनमा ल्याइने बताएका छन्।
धरानमा किताब बेचेर पुन सुनसरीको इटहरीमा किताब बेच्न झरेका छन्। उनले इटहरी बासीलाई पनि किताब किनेर सहयोग गर्न अनुरोध गरेका छन्। इटहरी बासीहरूले पनि पुनका किताब किनेर उनलाई सहयोग गरिरहेका छन्।