नवदीप एकेडेमीमा नेतृत्व विकास हेड ब्वाय, हेड गर्ल तथा हाउस क्याप्टेन्सको शपथ ग्रहण तथा सम्मान कार्यक्रम सम्पन्न
वीरगंज, श्रावण १३ आनन्द पटेल
वीरगंज महानगरपालिका–१५, भिस्वास्थित नवदीप एकेडेमीमा नेतृत्व विकास तथा वार्षिक पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा हेड ब्वाय, हेड गर्ल तथा हाउस क्याप्टेन्सहरूको औपचारिक शपथ ग्रहण सम्पन्न भएको हो भने गत वर्ष शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिका शिक्षा महाशाखा प्रमुख आनन्द लामिछानेले विद्यार्थीमा नेतृत्व, अनुशासन र आत्मविश्वास विकासको महत्त्वपूर्ण आवश्यकता रहेको बताए। “यस्ता कार्यक्रमहरूले नेतृत्व, जिम्मेवारी र सामाजिक चेतना विस्तार गर्छन्,” उनले भने।
विशिष्ट अतिथि तथा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीले नवदीप एकेडेमीले निजी शिक्षा क्षेत्रमा अनुशासित र गुणस्तरीय वातावरण बनाउँदै उदाहरणीय भूमिका खेलेको बताए। उनले प्याब्सन पर्साले यस्ता विद्यालयहरूलाई निरन्तर प्रोत्साहन दिने उल्लेख गरे।
कार्यक्रममा प्याब्सन मधेश प्रदेश वरिष्ठ सल्लाहकार इमामुद्दिन अहमद, माउन्ट एडमण्ड स्कुलका निर्देशक फजिल अहमद, प्याब्सन पर्साका उपाध्यक्ष बिरेन्द्र यादव लगायतको सहभागिता रहेको थियो।
विद्यालयकी संचालिका सुशिला साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रजातान्त्रिक विधिबाट चयन भएका हेड ब्वाय आर्यन साह, हेड गर्ल प्रियांका साह तथा अन्य हाउस क्याप्टेन्सले शपथ ग्रहण गरे।
कार्यक्रम सञ्चालिका शिक्षिका नेहा अग्रवालले संयोजन गरेकी थिइन् भने स्थानीय समुदाय, अभिभावक र अतिथिहरूको बाक्लो उपस्थिति रहेको थियो।
सञ्चारकर्मी आनन्द पटेलले एक महिलाले यति व्यवस्थित रूपमा शिक्षण संस्था सञ्चालन गर्नु गर्वको कुरा भएको उल्लेख गर्दै संचालिका सुशिला साहलाई धन्यवाद दिए। उनले समाजिक क्षेत्रमा समेत साहको योगदान उल्लेखनीय रहेको धारणा व्यक्त गरे।