नवनियुक्त शाखा अधिकृतहरूलाई इमानदारीता पूर्वक काम गर्न मन्त्री गुप्ताको निर्देशन
१३ भर्दौै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफ्नो परिचय कामबाट दिनुपर्ने बताएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ललितपुरद्वारा आयोजित नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका तृतीय श्रेणीका अधिकृतहरूको ३८ औं आधारभूत प्रशासन प्रशिक्षण दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले व्यक्तिको पहिचान कामबाट हुने भएकाले भीडमा चिन्नै पर्छ भन्ने आवश्यक नरहेको बताए ।
दीक्षान्त समारोहमा १०५ जना शाखा अधिकृतलाई बधाई दिँदै, मन्त्री गुप्ताले प्रशिक्षार्थीहरूले प्राप्त गरेको ज्ञान र सीपलाई जनताको हितमा इमान्दारीपूर्वक प्रयोग गर्नुपर्नेमा जोड दिए । साथै, उनले कसैको मोलाहिजा र प्रलोभनमा नपरी आफ्ना प्रतिभा, क्षमता, र कार्यशैलीद्वारा छिटो र चुस्त सेवा प्रवाहमा ध्यान दिन निर्देशन पनि दिए ।
मन्त्री गुप्ताले राष्ट्रको सेवामा कुनै प्रकारको अनुचित कार्य नगरी, प्रभाव र दबाबमा नपरी साधन स्रोतको उच्चतम प्रयोगद्वारा राष्ट्रसेवा गर्ने जिम्मेवारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले सार्वजनिक जीवनमा सकारात्मक सोच र आचरणको पालन गर्दै नागरिक र राष्ट्रको अपेक्षा अनुरूप सन्तुष्टि हासिल गर्न नवनियुक्त शाखा अधिकृतहरूलाई प्रेरित रहन आग्रह पनि गरे ।
उनले सबै शाखा अधिकृतहरूलाई सार्वजनिक सेवा जीवनमा पूर्ण समर्पण गर्दै सफलता र प्रगतिको शुभकामना दिए ।