नाइजेरियामा लगातारको बाढीबाट १ सय ७० जनाको मृत्यु
एजेन्सी । नाइजेरियामा भारी वर्षापछि आएको लगातारको बाढीबाट १ सय ७० जनाको मृत्यु भएको छ । नाइजेरिया सरकारका अनुसार हप्तौसम्मको बाढीले दुई लाखभन्दा बढीलाई विस्थापित गरेको छ ।
उत्तरी नाइजेरिया बाढीबाट सबैभन्दा बढी प्रभावित बनेको नाइजेरियाको विपद् व्यवस्थापन निकायले जनाएको छ । नाइजेरियाको अन्य भागहरू पनि जोखिममा रहेका कारण लाखौं मानिसलाई सुरक्षित स्थानतर्फ सर्न आदेश दिइएको छ ।
मुसलधारे वर्षाका कारण दुई ठुला नदीहरु नाइजर र बेनुको पानीको सतह बढेर बस्तीसम्म प्रवेश गर्दा सयौं घर डुबानमा परेका छन् । बाढीमा परि झण्डै २ हजार घाइते भएको र एकलाख हेक्टरभन्दा बढी खेतबारी नष्ट भएको छ ।
नाइजेरियामा मनसुनी वर्षाको समय अक्सर मुसलधारे वर्षा हुने गरेको छ । सन् २०२२ मा आएको बाढीमा ६ सयभन्दा बढीको मृत्यु भएको थियो ।