नागपञ्चमीको अवसरमा वीरगन्ज सहित देशभर विशेष पूजा–आराधना
साउन १३ वीरगंज,
देशभर आज सनातन धर्मावलम्बीहरूले नागपञ्चमी पर्व श्रद्धा, भक्ति र आस्थाका साथ उल्लासपूर्वक मनाएका छन्। विशेष गरी तराईका क्षेत्रहरूमा यस पर्वको रौनक झनै बढी देखिएको छ।
वीरगन्जको अलखियामठ, चिनीमिलस्थित पशुपतिनाथ मन्दिर, जगरनाथ मन्दिरलगायतका प्रमुख नागस्थलहरूमा बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको थियो। भक्तजनहरूले नागदेवताका तस्वीरहरूमा गाईको दूध, दुबो, लावा, अक्षता, फूल र नगद चढाएर विधिपूर्वक पूजा–आराधना गरेका छन्।
पौराणिक मान्यताअनुसार सावन महिनाको शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्वमा नागदेवताहरूको पूजा गर्दा सर्प, बिच्छी लगायतका विषालु जीवहरूको प्रकोपबाट बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ।
यस दिन विशेष गरी घरको मूलढोकामा नागको चित्र टाँस्ने परम्परा छ, जसले अग्नि, चट्याङ र अन्य प्राकृतिक विपत्तिबाट घर र परिवारको सुरक्षा गर्ने विश्वास गरिन्छ।
नागलाई सर्पराजाको रूपमा मान्ने वैदिक परम्परा अनुसार जल स्रोतसँग सम्बन्धित नागलाई पूजा गर्दा वर्षा राम्रो हुने र प्राकृतिक सन्तुलन कायम रहने जनविश्वास छ। बराहपुराणका अनुसार आजकै दिन नागराज र ब्रह्माबीच संवाद भएको विश्वास गरिन्छ, जसले यो दिनलाई अझ विशेष बनाएको हो।
नागपञ्चमीको अवसरमा देशभरका मठ–मन्दिर, घर–घरमा पूजा, भजन–कीर्तन, रक्षा सूत्र बाँध्ने, र धार्मिक सत्सङ्ग जस्ता कार्यक्रमहरू आयोजना गरिएको थियो।
वीरगन्जसहित देशभर पर्व शान्तिपूर्ण र भक्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ।