निर्वाचन दिवसमा आयोगको चेतावनी: मत सर्वेक्षण नगर्न अनुरोध

37

काठमाडौँ – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको समयमा कुनै पनि किसिमका मत सर्वेक्षण नगर्न सञ्चारमाध्यमसँग आग्रह गरेका छन्।

दशौँ निर्वाचन दिवसको अवसरमा आयोजित कार्यक्रममा भण्डारीले निर्वाचन आचारसंहिता अनुसार मत सर्वेक्षण निषेध हुने भएकाले उल्लङ्घन भए कारबाही गरिने बताए। उनले सत्य समाचारलाई नै प्रस्तुत गर्न र झुटलाई फैलिन नदिन सञ्चारमाध्यम तथा राजनीतिक दलका समर्थकलाई सचेत गराए।

भण्डारीले मतदातालाई दबाब र प्रभावमा नपरी सही प्रतिनिधि छान्न आह्वान गर्दै निर्वाचन सुरक्षाका विषयमा नीति र रणनीति तय गर्न सुरक्षासम्बन्धी बैठक हुने जानकारी दिएका छन्।

निर्वाचन शिक्षामा संलग्न स्वयंसेवक, कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबैलाई धेरै मत खसाल्ने र खसेका मत सबै सदर गराउने जिम्मेवारीका साथ उच्च मनोबलका साथ काम गर्न उनले अनुरोध गरे।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले फागुन २१ गते हुने निर्वाचनका लागि जिल्ला जिल्लामा मतदान अधिकृत तोक्ने र तालिम दिने काम भइरहेको जानकारी दिएका छन्। देशभर ६,७४३ वटै वडामा मतदाता शिक्षा दिइरहेको र निर्वाचन पारदर्शी बनाउन राजनीतिक दल र उम्मेदवारले छुट्टै खाता खोल्नुपर्ने व्यवस्था गरेको पनि उनले उल्लेख गरे।

आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले पहिलोपटक २०१५ साल फागुन ७ गते निर्वाचन भएको सम्झनामा २०७३ सालदेखि प्रत्येक वर्ष फागुन ७ गते निर्वाचन दिवस मनाउन थालिएको जानकारी दिए।

Leave A Reply

Your email address will not be published.