निर्वाचन नजिकिँदै पर्सा–३ तात्यो, एमालेको बृहत कार्यकर्ता भेटघाट शनिबार

150

निर्वाचनको मिति नजिकिँदै जाँदा पर्सा–३ मा नेकपा एमालेले संगठनात्मक शक्ति प्रदर्शनलाई तीव्र बनाएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–३ ले आउँदो शनिबार बृहत कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गर्ने भएको हो।

नेकपा एमाले केन्द्रीय कमिटीका उपमहासचिव तथा पूर्व मन्त्री, प्रभावशाली युवा नेता योगेश भट्टराईको प्रमुख आतिथ्यमा हुने उक्त कार्यक्रमलाई पर्सा–३ मा निर्वाचन अभियानको टर्निङ प्वाइन्ट का रूपमा हेरिएको छ।

कार्यक्रममार्फत निर्वाचन अभियानलाई थप प्रभावकारी बनाउने, संगठन सुदृढीकरण गर्ने तथा कार्यकर्ताबीच आपसी समन्वय र एकता मजबुत बनाउने उद्देश्य रहेको आयोजकले जनाएको छ।

आगामी निर्वाचनमा पार्टीविरुद्ध भइरहेको चौतर्फी षड्यन्त्रलाई परास्त गर्दै एमाले उम्मेदवारलाई भारी मतले विजयी गराउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको नेताहरूले बताएका छन्। कार्यकर्ता भेटघाट कार्यक्रममार्फत संगठनलाई जरा–जरा सम्म मजबुत बनाउने, घरदैलो अभियानलाई अझ आक्रामक बनाउने तथा विपक्षी शक्तिको भ्रम चिर्ने रणनीति तय गरिने बुझिएको छ।

कार्यक्रममा प्रमुख अतिथि योगेश भट्टराईले देशलाई स्थायित्व, विकास र समृद्धिको बाटोमा अघि बढाउन एमालेको जित अपरिहार्य रहेको सन्देश दिने तयारी छ। साथै उहाँले पर्सा–३ लाई एमालेको बलियो आधार क्षेत्रका रूपमा स्थापित गर्न कार्यकर्तालाई स्पष्ट कार्यदिशा र चुनावी रणनीति दिनुहुने कार्यक्रम तय गरिएको छ।

नेकपा एमाले पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ क्षेत्रीय समन्वय कमिटीको आयोजनामा हुने कार्यक्रममा केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ता, जनप्रतिनिधि तथा संगठनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहने बताइएको छ।

एमाले नेतृत्वको सामूहिक उपस्थिति र कार्यकर्ताको उत्साहले पर्सा–३ मा चुनावी माहोल थप तातिने आँकलन गरिएको छ। कार्यक्रमलाई आगामी निर्वाचनका लागि एमालेको शक्ति प्रदर्शन र एकताबद्ध संघर्षको घोषणाका रूपमा लिइएको छ।

फागुन २१ गते हुने निर्वाचनमा पर्सा–३ बाट एमालेका युवा उम्मेदवार रूपेश कुमार पाण्डेको जित सुनिश्चित गर्न पार्टी पूर्ण रूपमा मैदानमा उत्रिएको सन्देश दिन यो कार्यक्रम निर्णायक हुने एमाले नेताहरूको दाबी छ।

पटेर्वा सुगौली गाउँपालिकास्थित श्री बनसपति गाद्दीमाई मन्दिर परिसरमा आयोजना हुने उक्त कार्यकर्ता भेटघाट कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन सम्पूर्ण पार्टीपंक्तिलाई आह्वान समेत गरिएको छ।

Leave A Reply

Your email address will not be published.