नेकपा (एमाले) पर्सा–२ की उम्मेदवार रिमा यादवप्रति जनविश्वास कमजोर, स्पष्ट एजेन्डाको अभाव रहेको आलोचना
वीरगञ्ज आनन्द पटेल। नेकपा (एमाले) पर्सा क्षेत्र नम्बर–२ की प्रतिनिधिसभा उम्मेदवार रिमा कुमारी यादवले वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का अगुवा कार्यकर्ताहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरे पनि उक्त कार्यक्रमले आम जनताको भरोसा जित्न नसकेको स्थानीयहरूको टिप्पणी छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको छलफल कार्यक्रममा पार्टीका नेता–कार्यकर्ताहरूको सहभागिता रहे पनि आम जनताको रोजाइमा पर्न सक्ने स्पष्ट र नयाँ एजेन्डा प्रस्तुत हुन नसकेको स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ।
कार्यक्रममा शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण र रोजगारीलाई प्राथमिकता दिने भनिए पनि ती विषयहरू पुरानै र दोहोरिएका नारामा सीमित रहेको, व्यवहारिक योजना र कार्यान्वयनको स्पष्ट खाका नदेखिएको भन्दै आलोचना गरिएको छ। स्थानीय बासिन्दाहरूका अनुसार उम्मेदवार यादवप्रति पूर्ण नेताकै रूपमा विश्वास गर्न सकिने आधार अहिलेसम्म बन्न सकेको छैन।
क्षेत्रका केही मतदाताहरूले विगतमा भएका विकास प्रयासहरूमा यादवको प्रभावकारी भूमिका नदेखिएको उल्लेख गर्दै यसपटक नयाँ सोच, नयाँ नेतृत्व र जनताको वास्तविक समस्यामा केन्द्रित उम्मेदवार आवश्यक रहेको प्रतिक्रिया दिएका छन्।
यता, कार्यक्रम पार्टीभित्रकै सीमित घेरामा केन्द्रित देखिएको र आम मतदातासँग प्रत्यक्ष संवाद कमजोर रहेको भन्दै एमाले पर्सा–२ को चुनावी रणनीतिमाथि समेत प्रश्न उठ्न थालेको छ। यसले निर्वाचनमा उम्मेदवार यादवका लागि चुनौती थपिएको संकेत देखिएको छ।