नेपालमा हरेक वर्ष ५४ हजार भन्दा बढी बालबालिका बालविवाहमा
काठमाडौँ। नेपालमा बाल विवाहको दर अझै पनि चिन्ताजनक रूपमा उच्च रहेको सरकारी तथ्यांकले देखाएको छ। राष्ट्रिय बाल अधिकार परिषद्को बालबालिका सम्बन्धी राष्ट्रिय प्रतिवेदन, २०८१ ले यो तथ्य उजागर गरेको हो। सोमबार प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले यससम्बन्धी जानकारी दिए।
सूचना अधिकारी चन्दका अनुसार, जनसंख्याको आधारमा ५४ हजार भन्दा बढी बालबालिकाले १८ वर्ष भन्दा कम उमेरमै विवाह गर्ने गरेका छन्। यसमध्ये ७ प्रतिशत बालबालिका १० देखि १४ वर्षको उमेरमै विवाह गर्छन् भने २२।३ प्रतिशत बालबालिका १५ देखि १७ वर्षको उमेरमा विवाह गर्दछन्। समग्रमा, नेपालमा बालविवाहको औसत उमेर १६ वर्ष रहेको प्रतिवेदनमा उल्लेख छ, जबकी मुलुकी अपराध संहिताले विवाहका लागि २० वर्ष उमेर तोकेको छ।
चन्दले बालबालिकाको स्वास्थ्यसम्बन्धी तथ्यांक पनि चिन्ताजनक रहेको बताए। प्रतिवेदनअनुसार, ५ वर्षमुनिका १९ प्रतिशत बालबालिकाको तौल सामान्यभन्दा कम रहेको छ। बाल स्वास्थ्यको अवस्था मधेस प्रदेशमा सबैभन्दा कमजोर देखिएको छ, जहाँ २७ प्रतिशत बालबालिकामा तौल कम रहेको छ। यसको तुलनामा, बागमती प्रदेशमा यो अवस्था राम्रो रहेको उल्लेख छ।
नेपालमा कुल बालबालिकाको २५ प्रतिशतको उचाइ नपुगेको पाइएको छ। अध्ययनले ७९ प्रतिशत बालबालिकाहरू अस्पतालमा जन्मिने र २१ प्रतिशत बालबालिकाहरू घरमै जन्मिने गरेको देखाएको छ। स्वास्थ्य संस्थामा बालबालिकाको जन्म गण्डकी र बागमती प्रदेशमा बढी छ भने मधेस प्रदेशमा यो दर सबैभन्दा कम ९६७ प्रतिशत० रहेको छ।
सूचना अधिकारी चन्दले सरकारले बाल अधिकार संरक्षण र बाल स्वास्थ्यमा सुधार गर्न नीतिगत सुधार गर्न जरुरी रहेकोमा जोड दिए।