नेपालले वेस्टइन्डिजमाथि ऐतिहासिक सिरिज जित्यो, टेस्ट राष्ट्रविरुद्ध पहिलो सफलता
काठमाडौं – नेपालले वेस्टइन्डिज विरुद्धको युनिटी कप ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला २–० को अविजित अग्रता सहित जितेको छ । सोमबार राती यूएईको शारजहाँ स्थित रंगशालामा भएको दोस्रो खेलमा नेपालले वेस्टइन्डिजलाई ९० रनले पराजित गर्दै श्रृंखला आफ्नाे पक्षमा पारेको हो ।
टस जितेर ब्याटिङ गरेको नेपालले आसिफ शेख (नट आउट ६८) र सन्दीप जोराको धमाकेदार अर्धशतक (६३) को मद्दतमा निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७३ रनको विशाल योगफल तयार गर्यो ।
बलिङतर्फ तीन वर्षपछि टोलीमा फर्केका आदिल आलम चम्किए । उनले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए । कुशल भूर्तेलले ३, गुलशन झाले २ र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिँदा वेस्टइन्डिज १७.१ ओभरमै ८३ रनमा समेटियो ।
यो जितसँगै नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्र विरुद्ध टी–२० अन्तर्राष्ट्रिय शृंखला जित्ने ऐतिहासिक कीर्तिमान कायम गरेको छ । यस अघि शनिबार भएको पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई १९ रनले हराउँदै पूर्ण टेस्ट राष्ट्रविरुद्धको पहिलो जित दर्ता गरेको थियो ।
तेस्रो तथा अन्तिम खेल आज मंगलबार हुनेछ । नेपालले यो खेल जितेमा वेस्टइन्डिजलाई क्लिन स्वीप गर्ने सुवर्ण अवसर पाउने छ ।
नेपाली क्रिकेटका लागि यो क्षण गौरवपूर्ण इतिहासका रूपमा रहने निश्चित छ ।