नेपाल राष्ट्रिय अभिभावक संघको २४औँ स्थापना दिवस वीरगञ्जमा भव्य रूपमा सम्पन्न

48

२३ पुस, वीरगञ्ज

नेपाल राष्ट्रिय अभिभावक संघको २४औँ स्थापना दिवस ‘देशभरका अभिभावक गुणस्तरीय शिक्षा आम अभिभावकहरूको अपेक्षा’ भन्ने मूलमन्त्रका साथ वीरगञ्जमा सभ्य एवं भव्य रूपमा मनाइएको छ।

नेपाल राष्ट्रिय अभिभावक संघ पर्सा जिल्ला समिति वीरगञ्ज तथा वीरगञ्ज महानगर समितिको संयुक्त आयोजनामा वीरगञ्ज–४ बिर्ता बजारस्थित धर्मशालाको सभाहलमा सम्पन्न कार्यक्रम वीरगञ्ज महानगर समितिका अध्यक्ष हृदयमोहन लाल दासको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पूर्व प्रधानाध्यापक शत्रुघ्न गिरी प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो।

कार्यक्रममा शिक्षाविद् तथा समाजसेवी प्रकाश कुमार उपाध्याय, विश्वनाथ प्रसाद चौरसिया, दलित नेता अशोक राउत, नेपाल राष्ट्रिय अभिभावक संघ बारा जिल्ला अध्यक्ष शम्भु पण्डित, रामविनोद सिंह, श्रवण बहादुर रायमाझी, लालबाबु सिंह, राजेश्वर प्रसाद कानु, धनबहादुर श्रेष्ठलगायत विशिष्ट अतिथि तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सो अवसरमा विशिष्ट अतिथि समाजसेवी प्रकाश कुमार उपाध्यायले संघको २४औँ स्थापना दिवसको अवसरमा सबैलाई बधाई दिँदै अभिभावकहरू एकजुट भई समयसापेक्ष गुणस्तरीय शिक्षालाई आत्मसात गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। आफ्ना सन्तानको शिक्षाप्रति अभिभावक गम्भीर बनेमा परिवार, समाज, शहर हुँदै देशको उज्ज्वल विकास र समृद्धि सुनिश्चित हुने उहाँको भनाइ थियो।

प्रमुख अतिथि शत्रुघ्न गिरीले अभिभावकहरू एकजुट हुन नसक्दा विद्यार्थीहरूको ज्ञान आर्जनमा कमी आउने र शैक्षिक नतिजामा समेत असर पर्ने बताउँदै आजको आवश्यकता अभिभावकहरूको संगठित भूमिका रहेकोमा जोड दिनुभयो।

कार्यक्रमको अन्त्यमा अध्यक्ष हृदयमोहन लाल दासले शिक्षा नै देशको आमूल परिवर्तनको आधार भएको उल्लेख गर्दै विद्यार्थीहरूको शैक्षिक स्तर उकास्न संघमार्फत सबै अभिभावकहरू गोलबन्द हुन आग्रह गर्नुभयो। उहाँले स्थापना दिवसको अवसरमा सम्पूर्णलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रमको सहजीकरण संघका केन्द्रीय उपाध्यक्ष तथा मधेश प्रदेश संयोजक सुरेन्द्र प्रसाद कानुले गर्नुभएको थियो भने स्वागत मन्तव्य वीरगञ्ज महानगर समितिका सचिव श्रवण बहादुर रायमाझीले व्यक्त गर्नुभएको थियो।

Leave A Reply

Your email address will not be published.