नेशनल मेडिकल कलेज र आशा किरण केन्द्रबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
बिरगञ्ज, ६ पुस —
नेशनल मेडिकल कलेज प्रा. लि. र आशा किरण केन्द्रबीच गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित औपचारिक सम्झौता हस्ताक्षर गरिएको छ।
सम्झौतासँगै आशा किरण केन्द्रको ११औँ वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो। सम्झौताको मुख्य उद्देश्य आशा किरण केन्द्रका कर्मचारी, अभिभावक तथा विकासात्मक चुनौती भएका बालबालिकालाई सहज, गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा प्रदान गर्नु रहेको जनाइएको छ।
सम्झौताअनुसार नेशनल मेडिकल कलेजले आकस्मिक तथा आपत्कालीन स्वास्थ्य सेवा, क्यासलेस थर्ड पार्टी इन्स्योरेन्स सुविधा उपलब्ध गराउनेछ। साथै ओपीडी, डे–केयर, सामान्य बेड, आईसीयू, एनआईसीयू, पिक्यू, सर्जरी, प्रयोगशाला परीक्षण, एक्स–रे, भिडियो एक्स–रे, सीटी स्क्यान, एमआरआई, फार्मेसी तथा डेन्टल सेवामा विशेष छुट प्रदान गरिनेछ। बालबालिकाहरूका लागि छुट सुविधा विशेष रूपमा लागू गरिने बताइएको छ।
कार्यक्रममा नेशनल मेडिकल कलेजका तर्फबाट अस्पताल निर्देशक डा. इशरत जाहान अन्सारी, सिआईओ इञ्जिनियर प्रदीप कुमार चौधरी तथा मार्केटिङ म्यानेजर जितेश चन्द्र दासको उपस्थिति रहेको थियो। आशा किरण केन्द्रका तर्फबाट संस्थापक एवं अध्यक्ष सुनिल गुप्ता सहभागी हुनु भएको थियो।
यसैगरी कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका एसपी पूर्णचन्द भट्ट, उद्योगपति शुरेश रुँगटा, मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश, कार्यक्रम अध्यक्ष सुनिल गुप्ता तथा प्रमुख अतिथि अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युटका अध्यक्ष डा. बसन्त पन्तलगायतको उपस्थिति रहेको थियो।
सम्झौता एक वर्षका लागि लागू हुने र आवश्यकताअनुसार दुवै पक्षको सहमतिमा नविकरण गर्न सकिने जनाइएको छ। यस सहकार्यले स्वास्थ्य सेवा र सामाजिक दायित्वबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।
सम्झौतापत्रमा नेशनल मेडिकल कलेज प्रा. लि. का अस्पताल निर्देशक डा. इशरत जाहान अन्सारी र आशा किरण केन्द्रका संस्थापक एवं अध्यक्ष सुनिल गुप्ताले हस्ताक्षर गर्नुभएको हो।