न्यु वेभ माविमा इन्टरहाउस ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

20

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर–४ बिर्तामा रहेको न्यु वेभ माध्यमिक विद्यालयमा अध्ययनरत छात्र–छात्राहरूको इन्टरहाउस ब्याडमिन्टन प्रतियोगिता आज एक समारोहका बीच सम्पन्न भएको छ।

न्यु वेभ माध्यमिक विद्यालयका डाइरेक्टर मेनु प्रधानको सभापतित्व तथा जन भण्डाफोर दैनिक का कार्यकारी सम्पादक एवं जगत समाचार का सञ्चालक जगत राईको प्रमुख आतिथ्यतामा उक्त प्रतियोगिता सम्पन्न भएको हो।

प्रमुख अतिथि राईले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूको सर्वाङ्गीण क्षमता विकासमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै यस्ता अतिरिक्त खेलकुद कार्यक्रमहरूले विद्यार्थीभित्र लुकेका प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले शिक्षा मात्र पर्याप्त नहुने भन्दै ब्याडमिन्टन, भलिबल, फुटबल, क्रिकेट, बास्केटबल, चित्रकला, हस्तकला तथा नृत्यजस्ता गतिविधिले विद्यार्थीलाई आफ्नो लक्ष्य निर्धारण गर्न सहयोग पुग्ने उल्लेख गरे।

राईले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य रहेको बताउँदै न्यु वेभ माध्यमिक विद्यालयले शिक्षा र अतिरिक्त क्रियाकलापलाई समान प्राथमिकता दिँदै विद्यार्थीहरूको भविष्य निर्माणमा उल्लेखनीय भूमिका खेलिरहेको भन्दै प्रशंसा व्यक्त गरे।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुभाष प्रधानले निजी विद्यालयले सानै उमेरदेखि विद्यार्थीहरूलाई विभिन्न अतिरिक्त क्रियाकलापमा संलग्न गराउँदै आएको र आगामी दिनमा पनि शिक्षा सँगसँगै खेलकुद तथा सिर्जनात्मक क्षेत्रमा पूर्ण रूपमा जोड दिने प्रतिबद्धता जनाए।

इन्टरहाउस ब्याडमिन्टन प्रतियोगितामा विजेता तथा उपविजेता विद्यार्थीहरूलाई सिल्ड र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका सचिव दीपक गौतम, विद्यालयका डिके शाह, सूर्य प्रधान, छवेन्द्र चौधरी, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.