पत्रकारहरूमाथि भएको आक्रमणको छानबिन गर्न नेपाल पत्रकार महासङ्घको केन्द्रीय टोली जनकपुरमा
जनकपुरधाम । पत्रकारहरूमाथि भएको आक्रमणको छानबिन गर्न नेपाल पत्रकार महासङ्घको केन्द्रीय टोली जनकपुर आइपुगेको छ।
नेपाल बार एशोसिएसन, जनकपुरका केही वकिलहरूको समूहले पत्रकारहरूमाथि गरेको सांघातिक आक्रमणको घटनाबारे तथ्य संकलन गर्न र वर्तमान अवस्था बुझ्न यो टोली जनकपुर आएको हो।
महासङ्घका लेखा संयोजक केसी लामिछानेको नेतृत्वमा आएको यो तीन सदस्यीय टोलीमा केन्द्रीय सदस्य राजेश कुमार कर्ण र राजु विश्वकर्मा पनि छन्। यो टोलीले घटनाका दुवै पक्षका मानिसहरूसँग कुराकानी गर्नेछ। साथै, स्थानीय प्रशासन, प्रादेशिक अस्पतालका चिकित्सक र अन्य सरोकारवालाहरूसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ।
छानबिन र छलफलपछि महासङ्घले घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनी उपचार खोज्ने र अन्य आवश्यक निर्णयहरू लिने तयारी गरेको छ।
यो घटना नेपाल बार एशोसिएसन जनकपुर र नेपाल पत्रकार महासङ्घबीचको जग्गा विवादबाट सुरु भएको हो। पत्रकार महासङ्घले गुठी संस्थानको केन्द्रीय कार्यालयसँगको सम्झौताअनुसार पाएको जग्गालाई बार एशोसिएसनले पार्किङको रूपमा प्रयोग गर्न जग्गालाई कब्जा गर्दै हत्याउन खोजेका थिए । बारले सो सम्झौता खारेजीका लागि अदालतमा मुद्दा पनि दायर गरेको थियो।
यही विवादित जग्गामा पत्रकार सम्मेलन गरेपछि बार एशोसिएसनका वकिलहरूको समूहले पत्रकारहरूमाथि आक्रमण गरेका थिए । वकिलहरूले जग्गा आफ्नो स्वामित्वमा रहेको दाबी गर्दै तारले घेरा हाल्न खोज्दा झडप भएको थियो। उक्त घटनामा ६ जनाभन्दा बढी पत्रकारहरू घाइते भएका थिए।