परवानीपुर गाउँपालिकामा प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता शुरु

413

१५ जेष्ठ, परवानीपुर आनन्द पटेल बाराको परवानीपुर गाउँपालिकामा प्रथम अध्यक्ष क्रिकेट प्रतियोगिता मंगलबारदेखि शुरु भएको छ । 

आज भएको पहिलो खेलमा वडा नं ४ चैनपुरले विजयी सुरुवात गरेको छ । टास हारेर पहिलो ब्याटिङको निम्तो पाएको चैनपुर क्रिकेट टिम १२ ओभरमा ५ विकेटको क्षतिमा १३९ रनको योगफल तयार पारेको थियो । चैनपुरबाट टिमका कप्तान राजन साहले सर्वाधिक ५७ रन बनाएका थिए ।

जवाफी ब्याटिङमा उत्रेको वडा नं १ बुनियादले पुरै विकेटको क्षतिमा जम्मा ४९ रन बनाएको थियो । आफ्नो राम्रो बवलिङ र फिल्डिङको प्रदशनले चैनपुर टीम ९० रनले विजयी भएको हो । पहिलो भएको खेलमा मैन अफ दि म्याच चैनपुर क्रिकेट टिमका कप्तान राजन साह घोषित भए ।

यसैगरी आज दोश्रो खेल वडा नं ३ लिपनि र वडा नं ५ बहुअरीबिच सम्पन्न भएको छ । दोश्रो खेलमा वडा नं ३ लिपनी क्रिकेट टिम विजयी भएको हो ।

टस् जीतेर पहिलो ब्याटिङको निर्णय गरेको वडा नं ५ बहुअरी क्रिकेट टिमले १६ ओभरमा ९ विकेटको क्षतिमा १०९ रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रेको वडा नं ३ लिपनिले १२.३ ओभर खेल्दै जम्मा ३ विकेटको क्षतिमा फराकिलो जीत हासिल गरेको छ ।

यसैगरी भोली बुधबार दोश्रो दिन पहिलो खेल बिहान ७ बजे वडा नं २ रामपुर र पालिकाको कर्मचारीबिच हुने छ । यसैगरी दोस्रो खेल वडा नं १ बुनियाद र वडा नं ३ लिपनीबिच हुने आयोजक कमिटीले जानकारी दिएको छ ।

यसैबिच प्रथम अध्यक्ष क्रिकेट प्रतियोगिताको समुद्घाटन परवानीपुर गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले गर्नु भएको छ । प्रतियोगिताको समुद्घाटन गर्दै प्रमुख अतिथि कुर्मीले सम्पूर्ण देशको पहिचान खेलाडीको प्रदर्शनले हुने भएकोले सबै खेलाडीलाई राम्रैसंग प्रदर्शन गर्न आग्रह गरे ।

उनले आउने दिनमा यस पालिकामा खेलको विकास राम्रैसंग गर्ने र पालिकामा राम्रै प्रदर्शन गर्ने खेलाडीहरूलाई पालिकाको तर्फबाट हरेक सुविधा दिने घोषणा गरे ।

यसैगरी प्रतियोगिता गर्नका लागि प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले पाँच वटै वडाका खेलाडीहरूलाई क्रिकेट सामग्री, ड्रेस, बैट, बोल आदि उपलब्ध गराएको र आउने दिनमा अझ राम्ररी तरिकाले खेलाडीहरूलाई सेवा सुविधा थपिँदै जाने प्रतिबद्धता जनाए ।

सो अवसरमा उपप्रमुख सुगान्धी देवी कनुईन, पाँच वटै वडाका वडा अध्यक्षहरु, पालिका सदस्यहरू, विभिन्न पार्टीका जनप्रतिनिधिहरु, पाँच वटै वडाका खेलाडीहरू, सुरक्षाकर्मी लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.