परिवार बचत तथा ऋण सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

54

पौष ५, वीरगन्ज ।

वीरगन्ज महानगरपालिका वडा नं. ९ मा रहेको परिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभा शनिबार होटल बैंकटमा सम्पन्न भएको छ।

संस्थाका सञ्चालक समिति अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभामा वरिष्ठ सल्लाहकार दीपेन्द्र गोविन्द वैद्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने संस्थाका व्यवस्थापक मुन्नाकुमार ठाकुरले आर्थिक वर्ष २०८१/८२ को वार्षिक आय–व्यय प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रतिवेदन अनुसार संस्था २०६७ साल असोज २२ गते ३३ जना शेयरधनीबाट रु. २० लाख पुँजीका साथ स्थापना भएको हो। हाल संस्थामा कुल निक्षेप रु. ५ करोड ११ लाख ५ हजार ५२६ पुगेको छ। संस्थापक शेयरधनी तथा सदस्यहरूको शेयर पुँजी रु. ८९ लाख ६७ हजार रहेको छ भने कुल सदस्य संख्या १,३२५ रहेको छ। जसमध्ये पुरुष ७०२ र महिला ६२५ जना रहेका छन्।

संस्थाले हालसम्म रु. ६ करोड ७१ हजार कर्जा लगानी गरेको छ। प्रतिवेदन अनुसार कर अघि नाफा रु. २३ लाख ३१ हजार २४५ रहेको छ भने करपछि नाफा रु. १८ लाख ६४ हजार ९९६ पुगेको छ। व्यवस्थापछिको नाफा रु. ६ लाख ७८ हजार ४७९ रहेको छ।

सञ्चालक समिति सचिव राजेशबहादुर श्रेष्ठले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा विपन्न वर्गका जेहेन्दार व्यक्तिहरूलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गर्दै आएको जानकारी दिए। साथै सामुदायिक विद्यालयहरूमा शैक्षिक सामग्री वितरण गर्दै आएको पनि उनले बताए।

साधारणसभामा उपाध्यक्ष सुनिल श्रेष्ठ, कोषाध्यक्ष संजयकुमार श्रेष्ठ, महिला सदस्य सुनैना मानन्धर, शेयरधनीहरू तथा बचतकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष कृष्णकुमार श्रेष्ठले साना व्यापारीदेखि सडकमा दैनिक मजदुरी गरी आम्दानी गर्ने व्यक्तिहरूको बचत संकलन गरी आवश्यकता परेको बेला एकमुष्ठ रकम उपलब्ध गराउने तथा आपतकालीन अवस्थामा सहयोग पुर्‍याउने उद्देश्यले सहकारी स्थापना गरिएको बताए।

कार्यक्रमको सहजीकरण सञ्चालक समिति सचिव राजेशबहादुर श्रेष्ठले गरेका थिए। साधारणसभाले नयाँ सञ्चालक समिति चयन गर्ने निर्णयसमेत गरेको सचिव श्रेष्ठले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.