पर्साबाट चाँदीका गरगहनासहित एकजना पक्राउ
वैशाख २३ ,वीरगञ्ज । पर्साबाट प्रहरीले चाँदीका गरगहनासहित एकजनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट प्रहरीले चाँदीको गरगहनासहित एकजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बारा फेटा गाउँपालिका वडा नम्बर ३ बस्ने २० वर्षका रोशन सोनार रहेका छन् । भारतबाट अवैधरूपमा चाँदीका गर–गहनाहरु ल्याउँदै गरेको सूचनाको आधारमा प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले उनलाई जाँच गरेको थियो ।
सोही क्रममा सोनारले कम्मरको भागमा रातो सेतो रङको गम्छाले बाँधेर लुकाइछिपाई ल्याउदै गरेको अवस्थामा उक्त गरगहनाहरु बरामद भएको पर्साका प्रहरी नायब उपरिक्षक प्रवक्ता कुमार बिक्रम थापाले जानकारी दिए ।
उनको साथबाट चाँदी जस्तो देखिने धातुबाट बनेका विभिन्न किसिमका गरगहनाहरू २ केजी १७३ ग्राम फेला परेको प्रवक्ता थापाले बताए ।
पक्राउ परेकामाथि राजश्व छलि चोरी पैठारी समबन्धि मुद्दा दर्ता गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो ।