पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना : आतसबाजी, पटाका र जुवातासमा कडाइ
समाचारस् आनन्द पटेल
पर्सा — तिहार र छठ पर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय पर्साले जिल्ला भित्र सुरक्षाको अवस्था सुदृढ बनाउन विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। जिल्ला शान्ति सुरक्षा समितिको बैठकले आगामी चाडपर्वमा अनुशासित वातावरण कायम गर्न आतसबाजी, पटाका प्रयोग, जुवातास तथा अशान्ति मच्चाउने कार्यमा कडाइ गर्ने निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको अनुरोधपत्रमा भनिएको छ — “चाडपर्वको अवसरमा घर–घरमा आतसबाजी गर्ने, पटाका पड्काउने तथा यस्ता गतिविधिबाट हुने संभावित दुर्घटना र आगलागी नियन्त्रण गर्न प्रहरी र प्रशासन सशक्त रुपमा परिचालित हुनेछ।” यसका लागि जिल्ला प्रहरी, सशस्त्र प्रहरी र स्थानीय निकायहरूलाई समेत समन्वयमा राखी सुरक्षात्मक योजना कार्यान्वयन गर्न निर्देशन दिइएको छ।
आतसबाजी तथा पटाका बिक्री–वितरण र प्रयोग गर्ने जो कोहीलाई कानुन बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ। यससँगै राति १० बजेपछि अत्यावश्यक बाहेकका सबै व्यवसाय र दोकान बन्द गर्ने, भीडभाड र अशान्ति मच्चाउने गतिविधिमा निगरानी बढाउने निर्णय गरिएको छ।
यस्तै, चाडपर्वको नाममा हुने जुवातास, सट्टेबाजी तथा अवैध जुवा–खालमा संलग्न हुनेहरूमाथि पनि निगरानी तथा कारबाही गरिने प्रशासनले जनाएको छ। जुवातासका कारण सामाजिक तथा पारिवारिक सम्बन्धमा नकारात्मक असर पर्न सक्ने भएकाले यस वर्ष कडाइ गरिने चेतावनी दिइएको हो।
साथै, मेलापात तथा धार्मिक कार्यक्रम आयोजना गर्दा स्थानीय प्रशासनबाट अनुमति अनिवार्य हुने बताइएको छ। चाडपर्वका बेला स्वास्थ्य सुरक्षालाई पनि विशेष प्राथमिकता दिइने उल्लेख गर्दै स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ।
सुरक्षासम्बन्धी कुनै समस्या परेमा तत्काल १०० मा फोन गर्न वा नजिकको प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न नागरिकलाई आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी लोकेन्द्रराज पौडेलद्वारा हस्ताक्षरित उक्त अनुरोधपत्रमा नागरिकलाई चाडपर्व उत्सवलाई शान्त, सुरक्षित र सभ्य रुपमा मनाउन अपील गरिएको छ।