पर्सामा मिटर ब्याज समबन्धी मुद्धामा १२ सय भन्दा बढी मेलमिलाप

17

वीरगञ्ज । पर्सा जिल्लामा मिटर ब्याजसम्बन्धी उजुरी दर्ता गर्ने क्रम तीव्र गतिमा जारी छ । हालसम्म जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा गरी दुई हजार २२८ उजुरी दर्ता भइसकेका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्साबाट प्राप्त तथ्याङ्कअनुसार १६ सय ६३ उजुरी प्रशासन कार्यालयमार्फत प्रहरी कार्यालयमा पठाइएको छ भने ५६५ उजुरी सोझै प्रहरी कार्यालयमा दर्ता भएका छन् । ती उजुरीमध्ये हालसम्म २७ वटा मुद्दा अदालतमा दर्ता गरिएको छ ।

१२ सयभन्दा बढी उजुरीमा मेलमिलाप

दर्ता भएका उजुरीमध्ये १२ सय ३९ उजुरीमा मेलमिलाप भइसकेको छ । प्रहरी र प्रशासनको प्रयासमा ९६२ उजुरीको मेलमिलाप प्रक्रिया जारी छ । यसबिचमा मिटर ब्याजको अनुसन्धानका क्रममा दुई जना महिलासहित १६ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार, मिटर ब्याजसम्बन्धी उजुरीमार्फत हालसम्म ३५ करोड ७२ लाख ९५ हजार ३८१ रुपैयाँ माग दाबी गरिएको छ । यसमध्ये २२ करोड १७ लाख ८० हजार १८२ रुपैयाँको मेलमिलाप भएको छ ।

सम्पत्ति फिर्ता

मेलमिलापका क्रममा ३३ बिघा २ कट्टा १९ धुर ८ कन्वा घरजग्गा र अन्य जिन्सी सामान पीडितलाई फिर्ता गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमार्फत ५ करोड ५९ लाख ६६ हजार ५६१ रुपैयाँ बिगो रकम फिर्ता भएको छ । साथै, १८ बिघा १३ कट्टा १७ धुर ९ कन्वा घरजग्गा र जिन्सी सामान पीडितलाई उपलब्ध गराइएको छ ।

त्यसै गरी, प्रहरी कार्यालयमार्फत १६ करोड ५८ लाख १३ हजार ६२१ रुपैयाँको बिगो रकम मेलमिलाप गराइएको छ । यसअन्तर्गत १४ बिघा ९ कट्टा २ धुर ८ कन्वा घरजग्गा र अन्य सामान पनि फिर्ता गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलका अनुसार मिटर ब्याजसम्बन्धी उजुरीहरू आउने क्रम अहिले पनि रोकिएको छैन । उनले यस्ता उजुरीमा प्रहरीको अनुसन्धान तीव्र रहेको र पीडितलाई न्याय दिलाउने कार्यलाई प्राथमिकता दिइएको बताए ।

मिटर ब्याजको समस्या पर्सा जिल्लामा अझै गम्भीर बनेको छ । यस्ता उजुरीहरूको सङ्ख्याले समाजमा व्याप्त आर्थिक शोषणको चित्रण गरेको प्रहरी उपरीक्षक ढुङ्गेलले उल्लेख गरे । समस्या समाधानका लागि प्रशासन, प्रहरी, तथा नागरिक समाजबिच सहकार्यको आवश्यकता रहेको उनले बताए ।

Leave A Reply

Your email address will not be published.