पर्सामा सशस्त्र प्रहरीको कडाइ, ९ केजी ३०० ग्राम गाँजासहित दुई जना पक्राउ

55

पौस १२ वीरगञ्ज आनन्द पटेल ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेड क्वार्टर, पर्साले सीमावर्ती क्षेत्रमा हुने चोरी–तस्करी तथा लागुऔषध ओसारपसार नियन्त्रणका लागि सुरक्षा अभियानलाई तीव्र बनाएको छ। सीमा क्षेत्रमा कडा निगरानीसहित निरन्तर सुरक्षा परिचालन गर्दै कुनै पनि सीमा अपराध नियन्त्रणमा सशस्त्र प्रहरी सक्रिय रहेको जनाएको छ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय तथा नं. २ छिन्नमस्ता बाहिनी हेड क्वार्टरको नीति तथा निर्देशनअनुसार पर्सा जिल्लामा लागुऔषध नियन्त्रणलाई अभियानकै रूपमा सञ्चालन गरिएको छ। यस क्रममा जिल्लाका विभिन्न स्थानबाट ठूलो मात्रामा प्रतिबन्धित लागुऔषध बरामद गरी सम्बन्धित निकायमा बुझाउने कार्य भइरहेको छ।

पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका–५ मनिहर्वा चोकमा सुरक्षा बेस पोखरीयाबाट खटिएको मोबाइल गस्ती टोलीले चेकप्वाइन्ट राखी सवारी साधन जाँच गर्ने क्रममा लागुऔषध गाँजा बरामद गरेको हो। सशस्त्र प्रहरी नायब उपरीक्षक शम्भु कटुवालको कमाण्डमा खटिएको टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरिएको अवस्थामा दुई वटा मोटरसाइकलबाट गाँजा बरामद गरेको जनाएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेड क्वार्टर, पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनका अनुसार, जाँचका क्रममा जिल्ला पर्सा पकाहामैनपुर गाउँपालिका–५ सबैठवा निवासी अन्दाजी ४३ वर्षका रबिन्द्र महतो सवार BR22U 1178 नम्बरको मोटरसाइकलको डिक्कीमा लुकाइ राखिएको अन्दाजी ५ केजी गाँजा तथा भारतको बेतिया जिल्लाका अन्दाजी ३७ वर्षका अशोक महतो सवार BR22A 5302 नम्बरको मोटरसाइकलको सिटमुनि लुकाइ राखिएको अन्दाजी ४ केजी ३०० ग्राम गाँजा फेला परेको हो।

बरामद गरिएको लागुऔषध गाँजा जम्मा ९ केजी ३०० ग्राम रहेको छ। साथै, मोटरसाइकल दुई थान, मोबाइल दुई थान तथा भारतीय रुपैयाँ १ हजार ४ सय ५० समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा बुझाइएको उहाँले जानकारी दिनुभयो।

यसअघि पनि सशस्त्र प्रहरीले पर्सा जिल्लाका विभिन्न स्थानबाट सयौँ केजी प्रतिबन्धित गाँजा तथा लागुऔषधजन्य सामग्री बरामद गर्दै सीमा अपराध नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गर्दै आएको छ।

Leave A Reply

Your email address will not be published.