पर्सामा ३ केजी १२० ग्राम लागुऔषध गाँजा सहित एक जना पक्राउ
वीरगञ्ज, पुस ९ — जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध गाँजाजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा मिति २०८२/०९/०९ गते बिहान करिब ११:१५ बजे पर्साको जगरनाथपुर गाउँपालिका–२ स्थित सडकखण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई रोकी जाँच गरिएको थियो।
चेकजाँचका क्रममा BR 22 BL 0632 नम्बरको मोटरसाइकल चालकको शरीर खानतलासी गर्दा प्लास्टिकमा बेरिएको अवस्थामा ३ केजी १२० ग्राम लागुऔषध गाँजाजस्तो देखिने पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पक्राउ पर्ने व्यक्ति भारत, बिहार राज्य पश्चिम चम्पारण जिल्ला नरकटिया वडा नम्बर ११ निवासी २६ वर्षीय सुमित कुमार रहेका छन्। बरामद लागुऔषधसहित मोटरसाइकललाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका सुमित कुमारलाई लागुऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।