पर्सा सभापति पन्तद्वारा समानुपातिक सांसद छनोट प्रक्रिया पारदर्शी हुने घोषण

40

पर्सा — राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८४ को समानुपातिक उम्मेदवार छनोट प्रक्रिया सार्वजनिक गरेको छ। पार्टीका जिल्ला सभापति हरि पन्तले शुक्रबार होटल क्लासिक ब्याङ्कमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिए।

सभापति पन्तका अनुसार समानुपातिक बन्दसूचीका उम्मेदवार छनोट पूर्ण पारदर्शी, योग्य र वैज्ञानिक आधारमा हुने उद्देश्यले केन्द्रीय समितिले मापदण्ड तय गरेको छ। उम्मेदवार छनोट गर्दा पार्टीको जिम्मेवारी, लिडरशिप, पोलिटिकल प्रोक्सिमिटी, समावेशीता र प्रारम्भिक निर्वाचन अनिवार्य जस्ता तत्वहरूलाई ध्यानमा राखिने पन्तले बताए।

उम्मेदवार बन्नका लागि कानुन अनुसार अयोग्य नठहरिने, प्रहरी रिपोर्ट स्पष्ट हुने, कालोसूचीमा नपर्ने, पारिवारिक आधारभूत आवश्यकताहरू पूरा गर्ने, पारदर्शी आम्दानी स्रोत र सम्पत्ति विवरण पेश गर्ने, पार्टीको अनुशासन समितिले अयोग्य नठहराउने, अन्य राजनीतिक दल छोडेको र सार्वजनिक पदको दुरुपयोग नगरेको लगायत ९ वटा प्रमुख सर्तहरू पूरा हुनुपर्ने पन्तले स्पष्ट पारे।

उनले थपे, “हाम्रो पार्टीको मुख्य उद्देश्य नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, सांस्कृतिक विविधता, राष्ट्रिय एकता, सुशासन, दिगो शान्ति र समृद्धि सुनिश्चित गर्नु हो। यही लक्ष्य अनुरूप फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी अहिलेबाट सुरु गरिएको छ।”

पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य डा. नन्दन यादव, मधेस प्रदेश संगठन विभाग उपप्रमुख प्रमोद कुमार, शिक्षा प्रमुख सबु कडेल, उपप्रमुख सोनालाल पटेल, पर्सा जिल्ला कोषाध्यक्ष दिलिप प्रसाद कुर्मी, जिल्ला सहसचिव कृष्ण पासवान, पुरुषोत्तम उपाध्याय, मधेस प्रदेश संचार प्रमुख राम सरार्फ तथा प्रदिप पटेलसहित अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।

Leave A Reply

Your email address will not be published.