पर्सा सवारी चालक अनुमतिपत्र कार्यालयका अधिकृत कमलराज गौतम विरुद्ध अख्तियारको भ्रष्टाचार मुद्दा दायर

112

पर्सा स्थित सवारी चालक अनुमतिपत्र कार्यालयका अधिकृत कमलराज गौतमविरुद्ध करिब दुई करोड ५२ लाख रुपैयाँबराबरको शंकास्पद सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

मंगलबार दायर गरिएको अभियोगपत्रमा गौतमले आफ्नो पदको दुरुपयोग गर्दै ठूलो परिमाणमा अवैध सम्पत्ति आर्जन गरेको आरोप लगाइएको छ। आयोगका अनुसार, उनले २०५५ साल वैशाख ७ गतेदेखि २०७९ साल चैत २४ गतेसम्मको अवधिमा वैध आम्दानीको तुलनामा अत्यधिक खर्च तथा लगानी गरेका छन्, जुन उनको कानुनी आम्दानी स्रोतसँग मेल खाँदैन।

उक्त अवधिमा गौतमको वैध आम्दानी करिब दुई करोड ८९ लाख रुपैयाँ रहेको देखिएको छ, जुन पारिश्रमिक बचत, श्रीमतीको तलब–भत्ता, सम्पत्ति बिक्री, ऋण, शेयर कारोबार, बीमा, कृषिबाट हुने आम्दानी आदि स्रोतबाट आर्जन भएको हो। तर सोही समयमा उनले पाँच करोड ४० लाख रुपैयाँभन्दा बढी खर्च गरेका छन् — जसमा घर(जग्गा खरिद, गाडी, बीमा भुक्तानी, ऋण चुक्ता, सुन खरिद, अध्ययन खर्च लगायतका शीर्षक पर्छन्।

आम्दानी र खर्चबीच करिब दुई करोड ५२ लाख रुपैयाँको स्रोत नखुलेको देखिएको निष्कर्ष निकाल्दै अख्तियारले सो रकम गैरकानुनी ठहर गर्दै मुद्दा दायर गरेको हो। साथै, उनले राष्ट्रसेवक पदमा रहँदा पेश गर्नुपर्ने सम्पत्ति विवरणमा झुटो तथा अपुरो जानकारी दिएको आरोपसमेत लगाइएको छ।

गौतमले आर्जन गरेको अवैध सम्पत्तिको केही हिस्सा श्रीमती सरला नेपालको नाममा राखेको प्रमाण फेला परेपछि आयोगले उनलाई पनि प्रतिवादी बनाउँदै बिगो जफतको प्रक्रिया अघि बढाएको छ।

Leave A Reply

Your email address will not be published.