पर्सा–१ को वडा २३ मा कांग्रेसको शक्ति प्रदर्शन, अनिल रुङटाको समर्थनमा व्यापक घरदैलो
वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. २३ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिल रुङटाको समर्थनमा व्यापक घरदैलो कार्यक्रम सम्पन्न भएको छ। जनताबीच प्रत्यक्ष संवाद गर्दै जनसमर्थन विस्तार गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रम वडा नं. २३ का बुथ सभापति लोकनारायण यादवको नेतृत्वमा सम्पन्न भएको हो।
घरदैलो कार्यक्रमका क्रममा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो भने नेपाली कांग्रेसप्रति जनताको उत्साह र भरोसा स्पष्ट रूपमा झल्किएको सहभागीहरूले बताएका छन्। कार्यक्रममार्फत कांग्रेसको नीति, सिद्धान्त तथा उम्मेदवार अनिल रुङटाको विकासमुखी सोच घरघरमा पुर्याउन सफल भएको बुथ सभापति यादवले जानकारी दिनुभयो।
यादवले पर्सा क्षेत्र नं. १ मा नेपाली कांग्रेसको संगठन सुदृढ रहेको उल्लेख गर्दै बुथ तहबाटै सक्रियता बढाई अनिल रुङटाको विजय सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कांग्रेस नै जनताको साँचो प्रतिनिधि पार्टी भएको भन्दै यसपटक जनताले सही निर्णय गर्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो।
उम्मेदवार अनिल रुङटाले घरदैलो कार्यक्रममार्फत प्राप्त जनसमर्थनले आफूलाई थप जिम्मेवार र उत्साहित बनाएको बताउनुभयो। उहाँले जनताको सुख–दुःखमा सधैं साथ रहने, विकास र सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता दोहोर्याउँदै पर्सा क्षेत्र नं. १ लाई नमुना क्षेत्र बनाउने संकल्प व्यक्त गर्नुभयो। कांग्रेसको जित जनताको जित हुने स्पष्ट पार्दै उहाँले सबैलाई एकताबद्ध भएर चुनावी अभियानमा जुट्न आह्वान गर्नुभयो।
घरदैलो कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय दिवेदी, क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंह, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, जितेन्द्र पुरुष, मनोजा चौधरी, किरण सरकार, सुरेन्द्र लामिछाने, रामनिवास यादव लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी सबैले एक स्वरमा पर्सा क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङटालाई भारी मतले विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।