पर्सा–२ मा जसपाको चुनावी शक्ति प्रदर्शन अशोक टेमानी भन्छन्– एक पटक मौका दिनुस्, विश्वास तोड्दिनँ
वीरगंज (पर्सा), २३ माघ ।
पर्सा निर्वाचन क्षेत्र नं. २ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधिसभा सदस्यका उम्मेदवार अशोक टेमानीले चुनावी प्रचारप्रसार अन्तर्गत घरदैलो अभियानलाई थप सशक्त बनाएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै टेमानीले घरदैलो अभियान, कार्यकर्ता भेटघाट तथा अगुवा भेला कार्यक्रमलाई तीव्रता दिएका हुन् । सोही क्रममा शुक्रबार बिहान वीरगंज महानगरपालिका वडा नं. २६ सुगौलीवीर्तामा जनता समाजवादी पार्टीको अगुवा भेला सम्पन्न भएको छ ।
भेलाका प्रमुख अतिथि पूर्व मुख्यमन्त्री तथा जसपाका नेता लालबाबु राउत गद्दी रहनु भएको थियो भने विशिष्ट अतिथि पूर्वमन्त्री रमेश कुर्मी रहनु भएको थियो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीसहित जसपाका नेता विरेंद्र प्रसाद यादव, आशुतोष चतुर्वेदी, मुसाफिर अन्सारी, रामनाथ कुशवाहा, सकल हजरा पासवान, विरबल यादव, रिजवान अन्सारी तथा नेतृ करिमा बेगमलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।
भेलालाई सम्बोधन गर्दै विशिष्ट अतिथि पूर्वमन्त्री रमेश कुर्मीले पर्सा क्षेत्र नं. २ का जनताको माया र विश्वासका कारण आफू दुई पटक निर्वाचित भएको स्मरण गराउँदै यस पटक जसपाका उम्मेदवार अशोक टेमानीलाई विजयी गराउन आग्रह गरे । उनले आफू निर्वाचित भएपछि विकास निर्माणका थुप्रै काम सम्पन्न भएको उल्लेख गर्दै जसपा नै क्षेत्रको दिगो विकासको विकल्प भएको बताए ।
कार्यक्रममा वक्ताहरूले अशोक टेमानी लामो समयदेखि निःस्वार्थ रूपमा समाजसेवामा सक्रिय रहेको उल्लेख गर्दै यस्ता व्यक्तित्व निर्वाचित भए पर्सा क्षेत्र नं. २ को समग्र विकास सम्भव हुने बताए । भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा रोजगारीको समस्या समाधानका लागि तीनै तहमा जसपाको प्रतिनिधित्व आवश्यक रहेको उनीहरूको भनाइ थियो ।
त्यसैगरी, जसपा नेतृ करिमा बेगमले जातीय पहिचान, अधिकार र भूमिहीन समस्याको समाधानका लागि जसपा निरन्तर संघर्षरत रहेको बताइन् । उनले भनिन्, “व्यक्ति परिवर्तन हुन सक्छ तर पार्टी र एजेण्डा परिवर्तन हुँदैन। जनताको दुःख–पीडा बुझ्ने सामाजिक अभियन्ता अशोक टेमानीलाई जसपाले उम्मेदवार बनाएको हो, उहाँलाई जिताउनु आजको आवश्यकता हो।”
भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीले आफू भाषण गर्न होइन, काम गर्न राजनीतिमा आएको स्पष्ट पारे । उनले भने, “यस क्षेत्रका जनताको समस्याको दीर्घकालीन समाधान गर्न चुनावी मैदानमा उत्रिएको हुँ। एक पटक मौका दिनुस्, म तपाईहरूको विश्वास कहिल्यै तोड्दिनँ।”
भेलामा सहभागी युवा तथा कार्यकर्ताहरूले एकजुट भई अशोक टेमानीलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरूले शिक्षा, स्वास्थ्य, रोजगारी र भौतिक पूर्वाधार विकासका लागि जसपा नै उपयुक्त विकल्प भएको भन्दै चुनावी अभियानमा सक्रिय रहने बताएका छन् ।