पर्सा–२ मा भावनात्मक नारा बनाम राजनीतिक यथार्थ, रिमा यादवको ‘जेन्जी’ दाबी विवादमा
पर्सा — पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा एमालेकी प्रतिनिधिसभा उम्मेदवार रिमा कुमारी यादवले आफूलाई ‘जेन्जी नेता’ भन्दै चुनावी प्रचार तीव्र पारेकी छन्। तर उनको यो दाबी स्थानीय स्तरमै विवादित बन्दै गएको छ, जसले एमालेको राजनीतिक भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको छ।
जेन्जी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा नेकपा एमालेका पार्टी कार्यालयमा आगजनी, तोडफोड तथा नेताहरूको घरसमेत ध्वस्त भएको घटनाहरू जनमानसमा अझै ताजा छन्। यस्तो पृष्ठभूमिमा सोही पार्टीकी उम्मेदवार यादवले आफूलाई ‘जेन्जी नेता’का रूपमा प्रस्तुत गर्दै घरदैलो अभियानमा उत्रिनुले यो प्रचार राजनीतिक अवसरवाद मात्र हो कि ? भन्ने बहस चर्किएको छ।
स्थानीय मतदाताहरूको प्रश्न छ—
“आन्दोलन दबाउने शक्ति र आन्दोलनको नेतृत्वको दाबी एउटै व्यक्तिबाट कसरी सम्भव हुन्छ ?”
राजनीतिक विश्लेषकहरूका अनुसार यो रणनीति आन्दोलनको वास्तविक पीडा भोगेका नागरिकको भावनामाथि खेल्ने प्रयास हो। उनीहरू भन्छन्, ‘जेन्जी नेता’ ब्रान्डिङ जनतालाई भावनात्मक रूपमा गुमराहमा पार्ने रणनीति हो—आन्दोलनको नाम भोटका लागि, पीडाको कथा सत्ता चढ्नका लागि। यस्तो राजनीति न क्रान्तिकारी हुन्छ, न नै नैतिक।
स्थानीय राजनीतिक वृत्तमा यादवले आफ्नै पार्टीले आन्दोलनका क्रममा भोगेको क्षति र आलोचनामाथि मौनता अपनाउँदै, भावनात्मक नारा र आकर्षक प्रचारशैलीमार्फत जनमत प्रभावित पार्ने प्रयास गरिरहेको आरोप लगाइन्छ। कतिपयले यसलाई वास्तविक मुद्दाबाट ध्यान मोड्ने रणनीतिका रूपमा समेत व्याख्या गरेका छन्।
यद्यपि, एमाले समर्थकहरू भने यादवमाथि लगाइएका आरोपहरूलाई राजनीतिक पूर्वाग्रहको उपज भएको दाबी गर्छन्। उनीहरूका अनुसार नयाँ पुस्तालाई राजनीतिमा आकर्षित गर्ने र पुराना सोच तोड्ने प्रयासस्वरूप यस्तो अभियान सञ्चालन गरिएको हो।
निर्वाचन मिति नजिकिँदै जाँदा पर्सा–२ मा उम्मेदवारहरूबीच आरोप–प्रत्यारोपको राजनीति थप चर्किँदै गएको देखिन्छ। यस्तो अवस्थामा मतदाताहरूले नाराभन्दा पनि तथ्य, विगतको भूमिका र भविष्यका स्पष्ट योजनाका आधारमा निर्णय गर्ने अपेक्षा गरिएको छ।