पर्सा–२ मा रास्वपाको घरदैलो: “परिवर्तनको संकेत” भन्दै सुशील कानुलाई उत्साहजनक समर्थन
पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर २ का खेखरिया, झिँगण, छतुवन टाँडी तथा कटानी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुको घरदैलो कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।
प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त कार्यक्रममा बुद्धिजीवी, ज्येष्ठ नागरिक, युवा, महिला तथा कृषकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। स्थानीयवासीले यसपटकको निर्वाचनमार्फत पर्सा–२ मा सकारात्मक परिवर्तन सम्भव रहेको प्रतिक्रिया दिएका छन्।
घरदैलोका क्रममा उम्मेदवार कानुले मतदातासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका प्राथमिक समस्याहरू समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पर्सागढी क्षेत्रमा अस्पताल तथा स्वास्थ्य सेवा व्यवस्थापन सुधार, खेलकुद पूर्वाधार विकास, कृषकलाई समयमै मल तथा सिंचाइ सुविधा उपलब्ध गराउने विषयलाई मुख्य प्राथमिकतामा राख्ने बताए।
त्यसैगरी बेरोजगार युवालाई स्थानीय स्तरमै पशुपालनसम्बन्धी प्राविधिक सीप तालिम उपलब्ध गराई रोजगारी सिर्जना गर्ने योजना अघि सार्दै उनले निर्वाचित भएसँगै चरणबद्ध रूपमा आधारभूत समस्याहरू समाधान गर्ने प्रतिबद्धता जनाए।
रास्वपाका नेता शर्फु आलमका अनुसार कार्यक्रममा फिरोज मियाँ, समीर अन्सारी, धीरेन्द्र राउत, विनय कुमार ओझा, श्यामसुन्दर शाह, गंगा आचार्य, कविराज अर्याल, चन्द्रशेखर चौधरी लगायतको सहभागिता रहेको थियो।