पर्सा–३ मा एमाले क्षेत्रीय समन्वय कमिटी बैठक सम्पन्न, रूपेश पाण्डेले अघि सारे विकास र सुशासनको रोडम्याप

82

वीरगञ्ज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटीको बैठक सम्पन्न भएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै आयोजित बैठकमा चुनावी रणनीति, संगठन सुदृढीकरण तथा पार्टीपंक्तिको प्रभावकारी परिचालनबारे गम्भीर छलफल गरिएको थियो।

बैठकमा नेकपा एमाले पर्सा–३ का तर्फबाट प्रतिनिधिसभा सदस्यका युवा उम्मेदवार रूपेश कुमार पाण्डेले पर्सा–३ लाई विकास, सुशासन र अवसरको दृष्टिले देशकै नमुना क्षेत्र बनाउने दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले युवाको ऊर्जा, अनुभवको मार्गदर्शन र जनताको भरोसामा आधारित समावेशी विकासको खाका अघि सार्दै रोजगारी, पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्ने बताउनुभयो।

क्षेत्रीय समन्वय कमिटीका अध्यक्ष फर्मान मियाको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य एवं पर्सा जिल्ला इन्चार्ज प्रभु हजराको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा पार्टीका शीर्ष तथा प्रभावशाली नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बैठकमा केन्द्रीय सदस्य निर्मला देवकोटा, केन्द्रीय सल्लाहकार परिषद सदस्य शिव पटेल, मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादव, पर्सा जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, युवा नेता तथा सखुवा प्रसौनी गाउँपालिका प्रमुख जसवंत यादव, अनिल हजरा, अकलेश कुमार साह, कौशल साह लगायत प्रदेश, जिल्ला, पालिका तहका पदाधिकारी तथा कार्यकर्ताहरू सहभागी थिए।

पोखरीया स्थित नेकपा एमालेको पार्टी कार्यालयमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस निकटका तरूण दल पर्सा सचिव संतोष महतो राष्ट्रिय मुक्ति पार्टीका सदाम हुसैन, लगायत पोखरीया नगरपालिकाको वडा नम्बर ८ मननपुर निवासी खरदार मिया, औरन्जेव अंसारी, मयोनदिन मिया, रामनाथ सहनी, रामवावु सहनी, मजिद राय, मोति मुखिया बिन, परशुराम मिश्र सहित दुई दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरू आज एमालेमा प्रवेश गरेका छन। बैठकमा नवप्रवेशीहरूलाई एमालेका नेताहरूले खादा ठिका लगाएर नेकपा एमाले पार्टीमा स्वागत गरेका थिए ।

सो अवसरमा नवप्रवेशी संतोष महतोलाई नेकपा एमाले पार्टीले क्षेत्रीय युवा परिचालन कमिटीको संयोजकको जिम्मेवारी समेत दिएको छ।

कार्यक्रममा प्रमुख अतिथि हजराले पार्टीले अघि सारेका उम्मेदवारहरूको जित सुनिश्चित गर्न एकताबद्ध, अनुशासित र जनकेन्द्रित अभियानमा लाग्न निर्देशन दिनुभयो। उहाँले पर्सा–३ मा देखिएको जनसमर्थन र संगठनात्मक मजबुतीले एमालेको जित सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभयो।

बैठकले पर्सा–३ मा एमालेको संगठनात्मक तयारी सशक्त बन्दै गएको संकेत गरेको छ। युवाको नेतृत्व, अनुभवी नेताहरूको मार्गदर्शन र जनताको बढ्दो भरोसासँगै रूपेश कुमार पाण्डेको उम्मेदवारीलाई परिवर्तन र स्थायित्वको प्रतीकका रूपमा लिइएको छ। पर्सा–३ मा एमालेको जित सुनिश्चित गर्ने दिशामा पार्टी थप संगठित र आक्रामक रूपमा अघि बढेको स्पष्ट देखिन्छ।

बैठकमा पुर्व सबिधान सभा सदस्य तथा पोखरीया नगरपालिकाका नगर प्रमुख प्रधुमन चौहानले स्वागत मन्तव्य राखेका थिए, भने संतोष गिरीले कार्यक्रमको सहजीकरण गरेका थिए ।

Leave A Reply

Your email address will not be published.