पर्सा–३ मा रूपेश कुमार पाण्डेको पक्षमा बढ्दो जनलहर, चुनावी माहोल नयाँ मोडमा

93

वीरगञ्ज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक माहोल तातिँदै गएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राख्दा युवा उम्मेदवार रूपेश कुमार पाण्डेको पक्षमा देखिएको बढ्दो जनलहरले क्षेत्रको राजनीति नयाँ मोडमा पुगेको देखिन्छ।

स्थानीयस्तरमा देखिएको जनउत्साह, निरन्तर घरदैलो कार्यक्रम तथा नागरिकसँगको प्रत्यक्ष संवादले पाण्डेलाई परिवर्तनको संवाहकका रूपमा स्थापित गरिरहेको छ। “भाषण होइन, काम चाहियो” भन्ने नारासहित अघि बढिरहेका पाण्डेले पर्सा–३ को समग्र विकास, रोजगारी सिर्जना, पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सुधार तथा युवालाई अवसर प्रदान गर्ने स्पष्ट भिजन सार्वजनिक गरेका छन्। यही व्यावहारिक र विकासमुखी सोचका कारण मतदाताको भरोसा उनीतर्फ बढ्दै गएको स्थानीयहरूको भनाइ छ।

युवापुस्तामात्र होइन, महिला, किसान, व्यापारी तथा बुद्धिजीवी वर्गसमेत पाण्डेको अभियानप्रति आकर्षित हुँदै गएका छन्। स्थानीय बासिन्दाहरूका अनुसार विगतका प्रतिनिधिहरूले गर्न नसकेका काम अब नयाँ सोच, ऊर्जा र इमानदार नेतृत्वले अघि बढाउन सक्ने विश्वास बलियो बन्दै गएको छ। “हामी भिड होइनौं, चेतना हौं” भन्ने भावनासहित मतदाताहरू परिवर्तनको पक्षमा खुलेर उभिन थालेका छन्।

यसैबीच, पाण्डेको बढ्दो लोकप्रियताले विपक्षी दलहरूलाई असहज अवस्थामा पुर्‍याएको देखिन्छ। चुनावी प्रतिस्पर्धामा उनीहरूको पकड कमजोर बन्दै जाँदा आरोप–प्रत्यारोप र विभिन्न हत्कण्डा तीव्र बनेका छन्। तर, जनताको प्राथमिकता विकास र परिणाममुखी नेतृत्व भएकाले यस्ता गतिविधिले खास प्रभाव पार्न नसकेको स्थानीय नेताहरूको भनाइ छ।

समग्रमा हेर्दा पर्सा–३ मा परिवर्तनको पक्षमा जनमत सशक्त हुँदै गएको स्पष्ट संकेत देखिन्छ। फागुन २१ को निर्वाचन नजिकिँदै जाँदा युवा उम्मेदवार रूपेश कुमार पाण्डे आफ्नो भिजनलाई व्यवहारमा उतार्ने दिशामा अघि बढिरहेका छन् भने पर्सा–३ को राजनीतिक माहोल दिनानुदिन थप रोचक र निर्णायक बन्दै गएको छ।

Leave A Reply

Your email address will not be published.