प्याब्सन नेपाल मेडिसिटी टी–२० क्रिकेट : बीरगन्ज एकेडेमी, गोल्डेन फ्युचर र डिएभी क्वाटरफाइनलमा
बीरगन्जमा जारी प्याब्सन पर्सा आबद्ध विद्यालयस्तरीय प्याब्सन नेपाल मेडिसिटी टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न तीन खेलबाट बीरगन्ज एकेडेमी, गोल्डेन फ्युचर र डिएभी विद्यालय क्वाटरफाइनल चरणमा प्रवेश गरेका छन्।
आजको पहिलो खेलमा साउथ जोन र बीरगन्ज एकेडेमीबीच प्रतिस्पर्धा भएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको बीरगन्ज एकेडेमीले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै १०७ रन बनायो। जवाफमा साउथ जोनले निर्धारित ओभर खेले पनि ७ विकेट गुमाएर १०६ रनमै सीमित भएपछि बीरगन्ज एकेडेमीले १ रनको रोमाञ्चक जित हात पार्यो। सो खेलमा उत्कृष्ट प्रदर्शन गरेका अरबाज अन्सारी म्यान अफ द म्याच घोषित भए।

दोस्रो खेलमा गोल्डेन फ्युचर र बिकन मावि आमनेसामने भए। टस जितेर पहिले ब्याटिङ गरेको बिकन मावि १४.५ ओभरमा अलआउट हुँदै ८० रन मात्र बनाउन सक्यो। लक्ष्य पछ्याउने क्रममा गोल्डेन फ्युचरले ११.१ ओभरमै ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै ७ विकेटको सहज जित निकालेको हो। गोल्डेन फ्युचरका निरञ्जन यादव म्यान अफ द म्याच बने।
त्यसैगरी, अन्तिम खेलमा डिएभी र ज्ञान ज्योति माविबीच खेल सम्पन्न भयो। टस जितेर बलिङ रोजेको डिएभीले ज्ञान ज्योति माविलाई निर्धारित ओभरमा ८ विकेटको क्षतिमा ७९ रनमा सीमित गर्यो। जवाफमा डिएभीले १३.४ ओभरमै ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्दै ६ विकेटको जित हात पार्यो।
यी नतिजासँगै बीरगन्ज एकेडेमी, गोल्डेन फ्युचर र डिएभी विद्यालय प्रतियोगिताको क्वाटरफाइनल चरणमा प्रवेश गरेका छन्।