प्रदर्शनका क्रममा सञ्चारकर्मीमाथि आक्रमणप्रति नेपाल पत्रकार महासंघ पर्साको गम्भीर ध्यानाकर्षण

71

 

वीरगञ्ज।

नेपाल पत्रकार महासंघ पर्सा शाखाले वीरगञ्जलगायतका स्थानमा विभिन्न धार्मिक समुदायले आयोजना गरेका प्रदर्शनका क्रममा समाचार संकलनमा खटिएका सञ्चारकर्मीमाथि भएको आक्रमण र दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार, आज भोजपुरी टाइम्स दैनिकका कार्यकारी सम्पादक श्रवण साह समाचार संकलनकै क्रममा प्रदर्शनकारीको आक्रमणमा परेका छन्। प्रदर्शनकारीले साहको मोबाइल फोन खोसेर उनीमाथि दुर्व्यवहार गरेको घटनाप्रति महासंघले कडा भर्त्सना गरेको छ।

समाचार संकलनमा खटिएका पत्रकारमाथि आक्रमण हुनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको महासंघको ठहर छ। विज्ञप्तिमा भनिएको छ, “स्वतन्त्र प्रेस लोकतन्त्रको आधारस्तम्भ हो, त्यसलाई कुण्ठित गर्ने कुनै पनि गतिविधि अस्वीकार्य छ।”

महासंघले घटनामा संलग्न दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। साथै धार्मिक तथा सामाजिक संवेदनशील विषयमा समाचार प्रकाशन र प्रसारण गर्दा सञ्चारमाध्यमहरूले आचारसंहिता पालना गर्दै संयमता र सावधानी अपनाउन आग्रह गरिएको छ।

नेपाल पत्रकार महासंघ पर्साले अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा धार्मिक तथा साम्प्रदायिक सद्भावमा आँच नपुग्ने गरी जिम्मेवार पत्रकारिता गर्न सबै पक्षलाई अपिल गरेको छ।

Leave A Reply

Your email address will not be published.