प्रधानमन्त्री कप मधेश प्रदेश छनोट क्रिकेट भोलिदेखि, पर्सामा खेलाडी छनोट नहुँदा अन्योल

77

प्रधानमन्त्री कप (पुरुष) एकदिवसीय मधेश प्रदेश छनोट क्रिकेट प्रतियोगिता भोलिदेखि सुरु हुने तय भए पनि पर्सा जिल्लामा खेलाडी छनोट प्रक्रिया अझै पूरा नहुँदा गम्भीर अन्योल उत्पन्न भएको छ।

सार्वजनिक गरिएको फिक्स्चर अनुसार प्रतियोगितामा मधेश प्रदेशका आठ जिल्लाका टोलीहरू सहभागी हुँदैछन्। समूह ‘ए’ मा बारा, पर्सा, रौतहट र सर्लाही तथा समूह ‘बी’ मा सप्तरी, धनुषा, महोत्तरी र सिरहा रहेका छन्। पर्साको टोलीले कालैयामा आफ्ना समूह चरणका खेलहरू खेल्ने तालिका छ।

तर, प्रतियोगिता सुरु हुन अब केही घण्टा मात्र बाँकी रहँदा पनि पर्सा जिल्ला क्रिकेट संघबाट खेलाडी छनोट (चाहत) प्रक्रिया सम्पन्न हुन नसकेको र खेलाडीहरूको नाम सार्वजनिक नगरिएको विषयले जिल्लाभित्र ठूलो असन्तोष पैदा गरेको छ। यसले गर्दा पर्साबाट प्रतिनिधित्व गर्ने खेलाडीहरू मानसिक रूपमा अन्योल र निराशामा परेका छन्।

खेलाडीहरूको नाम सार्वजनिक नहुँदा भित्रैबाट खेल खेलिसकेका तथा अभ्यासमा रहेका खेलाडीहरू समेत अनिश्चिततामा परेका छन्। यस अवस्थाले पर्सा जिल्ला क्रिकेट संघमाथि गम्भीर प्रश्न उठाएको छ

समितिले समयमै खेलाडीहरूको नाम सार्बजनिक नगरिदिँदा खेलाडीहरू निरास भएका छन् । कमिटीले आफ्नो मनोपरी ढंगले गैरजिम्मेवारी रूपमा काम गरेको हुँदा खेलाडीहरूको मनोबल अहिले खसेको छ  ।

प्रतियोगिता जस्तो महत्वपूर्ण प्रदेशस्तरीय छनोट अघि संघको तयारी कमजोर देखिनु र खेलाडी छनोट प्रक्रियामा पारदर्शिता नदेखिनुले क्रिकेटप्रेमी र खेलाडीहरूमा निराशा थपिएको छ।

खेलाडीहरू र क्रिकेट सरोकारवालाहरूले छिटो भन्दा छिटो खेलाडीहरूको नाम सार्वजनिक गरी अन्योल अन्त्य गर्न पर्सा जिल्ला क्रिकेट संघसँग माग गरेका छन्। अन्यथा यसले प्रतियोगितामा पर्सा टोलीको प्रदर्शन र मनोबलमा नकारात्मक असर पार्ने उनीहरूको भनाइ छ।

Leave A Reply

Your email address will not be published.