प्रमुख जिल्ला अधिकारीद्वारा कर्फ्यु आदेश फिर्ता,तर निषेधाज्ञा कायमै

51

वीरगञ्ज । पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले वीरगञ्ज महानगरपालिकाका केही क्षेत्रमा जारी कर्फ्यु आदेश हटाइएको जानकारी दिएका छन्। जिल्ला सुरक्षा समितिको निर्णय अनुसार फागुन ११ गते बिहान ९ः४५ बजेदेखि लागू गरिएको कर्फ्यु आदेश आज फागुन ११ गते साँझ ४ः३० बजेदेखि हटाइएको हो।

शान्ति सुरक्षा अवस्थाको मूल्यांकन गर्दा परिस्थिति क्रमशः सुधारोन्मुख देखिएको र सर्वदलीय बैठकको निर्णयसमेतका आधारमा कर्फ्यु निरन्तरता दिन आवश्यक नदेखिएको प्रशासनले जनाएको छ।

यद्यपि, स्थिति पूर्ण रूपमा सामान्य नभएको ठहर गर्दै वीरगञ्ज महानगरपालिकाको तोकिएको क्षेत्रमा आज फागुन ११ गते बेलुकी ६ः०० बजेदेखि भोलि बिहान ६ः०० बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा अवधिमा कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने प्रशासनले स्पष्ट गरेको छ। आदेश उल्लंघन गर्ने व्यक्तिलाई स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।

निषेधाज्ञा लागू हुने क्षेत्रहरूमा पूर्वमा बाइपास रोड, पश्चिममा रानीघाट पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा घण्टाघर चोक तोकिएको छ।

प्रशासनले सबैलाई शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.