प्रशासकीय प्रमुखको ‘कार्यकारी’ अधिकार खोसियो

64

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताकेता पत्र पठाएको लामो समयपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २३ पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरेको छ । पालिकाले वरिष्ठ हुँदाहुँदै कनिष्ठ र प्रशासन सेवा भन्दा बाहिरका कर्मचारीलाई जथाभावी रूपमा निमित्त दिएको उजुरीका आधारमा उनीहरूको अधिकार रद्द गरेको हो ।

मन्त्रालयका अनुसार धनुषाको धनुषाधाम, सप्तरीको कञ्चनरूप, सिरहाको सिरहा, महोत्तरीका लोहपट्टी र भागाहा, बाराको महागढी, पर्साको पोखरिया, जाजरकोटको छेडागाड, अछामको मंगलसेन र दार्चुलाको महाकाली गरी १० नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको अधिकार खोसिएको हो ।त्यस्तै, खोटाङको दिप्रुङ चुइचुम्मा, धनुषाका औरही र मुखियापट्टी मुसहरनिया, सर्लाहीका धनकौल र ब्रह्मापुरी, बाराको सवर्ण, मुगुको सोरु र खत्याड, हुम्लाका ताँजाकोट, अदानचुली र सिमकोट, अछामको चौरपाटी र बझाङको दुर्गाथली गाउँपालिकामा कार्यरत निमित्त प्रशासकीय अधिकृतको पनि आर्थिक र प्रशासनिक अधिकार खोसिएको छ ।

१० नगरपालिकामध्ये ३ वटामा स्वास्थ्यका र ७ वटामा प्रशासन सेवाका कर्मचारीले निमित्त प्रशासकीय अधिकृत चलाइरहेका थिए । १३ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतमध्ये ८ स्वास्थ्य सेवा, एक कृषि र चार जना प्रशासन सेवाका कर्मचारी थिए ।

नगरपालिका र गाउँपालिकाले आफूअनुकूलका कर्मचारीलाई निमित्त दिन मन्त्रालयमा दबाब दिने र वरिष्ठलाई पन्छाएर कनिष्ठलाई अघि बढाउने गरेपछि अख्तियारले त्यस्तो प्रकृति रोक्न पत्राचार गरेको थियो । तर अख्तियारको पत्रलाई मन्त्रालयले बेवास्ता गर्दै आएको थियो । संघीय मन्त्रालयका प्रवक्ता तथा सहसचिव कालीप्रसाद पराजुलीले भने गृहकार्य गर्दा समय लागेको बताए । ‘अख्तियारको पत्र आएको थियो । होमवर्क गर्दागर्दै कार्यान्वयन गर्न केही समय लाग्यो,’ उनले भने ।

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रशासन सेवाअन्तर्गत संघीय सरकारको दरबन्दीबाट हुनुपर्छ । गाउँपालिकामा अधिकृत र नगरपालिकामा उपसचिव प्रमुख प्रशासकीय अधिकृत हुन्छन् ।
कतिपय पालिका प्रमुखले संघीय मन्त्रालयबाट पठाइएका प्रशासन सेवाका प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता गरेर स्थानीय तहमा समायोजन भएर बढुवा भएका छैटौं र सातौं तहका कर्मचारीलाई निमित्त दिने गरेका थिए । मन्त्रालयले सातौं तहलाई प्रशासन सेवाको अधिकृत मान्दै आएको छ ।

कतिपय स्थानीय तहमा भने संघले कर्मचारी पठाउन नसक्दा पालिका प्रमुखहरू निमित्तबाट काम चलाउन बाध्य छन् । निमित्तलाई प्रशासकीय अधिकृतको अधिकार पनि संघीय मन्त्रालयले नै दिएको हो । ‘अधिकार आफैं दिने, आफैं खोस्ने मन्त्रालय यो निर्णयमा कतिन्जेल अडिन सक्छ, अहिल्यै अनुमान गर्न सकिँदैन,’ मन्त्रालयका प्रशासन महाशाखाका एक कर्मचारीले भने ।

मन्त्रालयका एक उपसचिवले विकट स्थानीय तह र मधेश प्रदेशका कतिपय स्थानीय तहमा कर्मचारी जानै नमान्ने भएकाले पनि खटनपटनमा समस्या रहेको बताए । मन्त्रालयले २ सय ४७ स्थानीय तहमा अझै प्रमुख प्रशासकीय अधिकृत पठाउन सकेको छैन । ती पालिका निमित्तकै भरमा सञ्चालन भइरहेका छन् ।

कान्तिपुर

Leave A Reply

Your email address will not be published.